February 7th, 2025

‘बैंकिङ क्षेत्र खल्बलाउन सामाजिक सञ्जालमा भ्रामक सूचना’

बैंकिङ खबर/नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई कमजोर बनाउने उद्देश्यसहित सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको तीन संगठनले बताएका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले यस्तो बताएका हुन् ।

बैंकिङ क्षेत्र नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी र नीति/नियमका अधिनमा रहेर प्रत्येक त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने गरेको उनीहरूले बताएका छन् । यसले नेपालको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरीवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थामा जोखिम बहन गर्ने क्षमता भएको र आजका दिनमा यी संस्था सुरक्षित रहेको बेहोरा स्पष्ट पार्दछौं,’ विज्ञप्तिमा छ ।
यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाको नाम प्रयोग गरी प्रेषित केही भ्रामक र गलत अभिव्यक्तिप्रति यी संस्थाले ध्यानाकर्षण गराएका छन् ।

सबै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपकर्ताको रकम पूर्णरूपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको समेत स्मरण गराइएको छ ।

सामाजिक सञ्जालमा देखिने गलत तथा भ्रामक टिप्पणीमा कुनै ध्यान नदिन र सम्बन्धित सरोकारवाला निकायले सम्प्रेषण गरेको सूचना/समाचार मात्र आधिकारिक रूपमा लिनसमेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।