February 7th, 2025

घरजग्गा क्षेत्रमा जाने कर्जा बढ्न थाल्यो

बैंकिङ खबर/ घरजग्गा क्षेत्रमा जाने कर्जा बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवसीय घर कर्जा (२ करोडसम्म) र अन्य प्रकृतिको रियल स्टेट कर्जा बढेको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यक्तिगत घर कर्जा तर्फ बैंक तथा वित्तीय संस्थाहरुले १५ अर्ब १५ करोड ५० लाख रुपैयाँ प्रवाह गरेका छन् ।

पछिल्लो एक वर्षको अवधिमा भने कुल २१ अर्ब ३० करोड ४३ लाख रुपैयाँ ऋण भने व्यक्तिगत आवासीय कर्जामा प्रवाह भएको देखिन्छ ।

गत पुस मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुले २ करोडसम्मको व्यक्तिगत आवासीय घर कर्जामा कुल ४ खर्ब २ अर्ब १७ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही अवधिसम्मको तुलनामा भने ५.५९ प्रतिशत बढी हो । गत आवको सो अवधिमा भने यस्तो कर्जा कुल ३ खर्ब ८० अर्ब ८६ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

केही समयअघिसम्म निरन्तर घटीरहेको समग्र रियल स्टेट कर्जा पनि दोहोरो अंकमा बढेको छ । पछिल्लो एक वर्षको अवधिमा भनै बैंक तथा वित्तीय संस्थाहरुले २८ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ लगानी गरेका छन् ।

राष्ट्र बैंकका अनुसार रियल स्टेट कर्जा ११.६९ प्रतिशत वृद्धि भएको छ । गत पुस मसान्तसम्म आइपुग्दा यस्तो शीर्षकको कर्जा २ खर्ब ७३ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग पनि बढेको राष्ट्र बैंकको आँकडा छ । आर्थिक शिथिलतका कारण देशभरको घरजग्गा कारोबार पनि सुस्ताएको थियो । आर्थिक गतिविधि पनि करिब ठप्पै थियो ।

पछिल्लो एक वर्षको अवधिमा सबैभन्दा धेरै कमर्शियल कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण ऋण लगानी बढेको छ । यस्तो कर्जा २०.०१ प्रतिशत वृद्धि भएको हो ।

गत आवको पुस मसान्तसम्म यस्तो शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले कुल २९ अर्ब १७ करोड ५१ लाख रुपैयाँ कर्जा दिएका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बढे ३५ अर्ब १ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।

आवासीय घर कर्जा (२ करोडसम्मको व्यक्तिगत आवसीय कर्जा बाहेक) पनि २.६० प्रतिशत बढेर ७० अर्ब ३२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यस्तै, जग्गा खरिद तथा प्लटिङ जाने कर्जा पनि १७.१३ प्रतिशत वृद्धि भई ५७ अर्ब ८७ करोड ५० लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, इनकम जेनेरेट गर्ने कर्मशियल कम्पेलेक्स निर्माण कर्जा पनि ९.९९ प्रतिशत बढेर १० अर्ब ९५ करोड ५३ लाख, अन्य घरजग्गा (जग्गा खरिद र प्लटिङ सहित) को कर्जा १४.५९ प्रतिशत बढेर १ खर्ब ५७ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ कायम भएको छ।

निश्चित उद्देश्य प्रष्ट नपारिएको तर रियल इस्टेट शिर्षकमै प्रवाह हुने कर्जा पनि ११.९१ प्रतिशत बढेको छ । यो ५० लाख वा सो भन्दा बढीको कर्जा हो ।

गत पुस मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले यस्तो शीर्षकमा ६६ अर्ब ७० करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै, रियल स्टेट अन्तर्गत नै अन्य शीर्षकमा प्रवाह हुने कर्जा पनि १५.७९ प्रतिशत बढेर ३२ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।