February 5th, 2025

ढोरपाटनको विकासमा प्रतिबद्ध छुः सांसद भट्टचन(भिडियोसहित)

बैंकिङ खबर/ नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले ढोरपाटनको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । ढोरपाटन नगरपालिकाका नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद भट्टचनले उक्त प्रतिबद्धता जनाएका हुन् ।

उनले सबै राजनीतिक दलका सांसद र नेताहरूले बागलुङको विकासमा दलीय राजनीतिबाट माथि उठेर काम गर्ने बताए । सांसद भट्टचनले विकासको लागि हातेमालो गरेर अगाडि बढ्ने पनि बताए । उनले ढोरपाटनमा कामहरू भए पनि तिव्रताका साथ काम अगाडि बढ्न नसकेको उनले स्वीकार गरे ।

‘हामीले गर्व गर्नुपर्छ । बागलुङ जिल्लामा १४ जना सांसद हुनुहुन्छ । ३ जना संघीय सांसद । ११ जना प्रदेश सभा सदस्यहरू हुनुहुन्छ’ उनले भने ।

ढोरपाटन क्षेत्रमा विजुली उत्पादनका लागि पहल भइरहेको भट्टचनले बताए । उनले ८२१ मेगावाटको जलविद्युत आयोजनाका लागि अनुमति लिने काम भइरहेको पनि बताए ।

यस क्षेत्रको विकासको लागि कृषि, पर्यटन र हाइड्रो पावर नै विकासको मुख्य आधार रहेको उनले बताए । उनले भने, ‘कृषिमा ढोरपाटनको स्याउ, किवी र अन्य खेतीहरुमा थप विकास गर्नुपर्ने देखिन्छ ।’

उत्तरगंगा जलाशय जलविद्युत आयोजना तत्कालिन अवस्थामा २०६०/६१ सालमा जाइकाले सर्भे रिपोर्ट तयार पारेको थियो । करिब २० वर्षको अन्तरकालमा केही कामहरु भए । तर धेरै काम अगाडि बढ्न सकेको उनले बताए । विगत एक वर्षयता यसलाई थप अगाडि बढाउने प्रयास गरेको उनले बताए ।

हेर्नुहोस् भिडियो