बैंकिङ खबर/ बढ्दो खराब कर्जासँगै संस्थामा संकट शुरु हुन थालेपछि फाइनान्स कम्पनीहरु धमाधम मर्जरमा जाने प्रस्ताव पारित गरेका छन् । कम्पनीहरुले वार्षिक साधारणसभाका लागि मर्जरको प्रस्तावमात्र गरेका छैनन कि पारित नै गरेर काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएका छन् ।
ब्याजदर घट्दै जानु, कर्जा प्रवाह नहुनु, पुरानो ऋण नउठ्नु जस्ता समस्याले वित्त कम्पनीहरु यतिबेला प्रभावित छन् । यस्तो परिस्थितिमा केही वित्त कम्पनीले मर्जर तथा प्राप्तिको क्रमलाई निरन्तरता दिएका छन् भने केहीले मर्जरमा जाने नयाँ प्रस्ताव गरेका हुन् ।
१७ मध्ये ६ कम्पनीले मर्जरको प्रस्ताव गरेका हुन् । अहिलेसम्म साधारण सभा गरिसकेका र गर्न बाँकी रहेका यी कम्पनी मर्जरमा जान तयार भएका छन् । साधारणसभा सकेका कम्पनीले मर्जरमा जाने प्रस्ताव पारित गरिसकेका छन् । अरु कम्पनीले मर्जरमा जाने प्रस्तावसहित सभा बोलाएका छन् ।
नेपालकै पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्सको ३२औं वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको छ । साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।
यस्तै गुहेश्वरी फाइनान्सको पुस २८ गते सम्पन्न २३ औं बार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । कम्पनीले बोलाएको सभामा ‘यस वित्तीय संस्था तथा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर (गाभ्ने गाभिने गर्ने÷गराउने, उपयुक्त वित्तीय संस्थाहरू प्राप्ती गर्ने वा गाभिने सम्बन्धमा प्रचलित ऐन, कानुन, नीति, नियम तथा निर्देशन अनुसार गर्नु पर्ने सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने’ उल्लेख थियो । त्यो प्रस्ताव सभाले पारित गरेको छ ।
यस्तै मञ्जुश्री फाइनान्सले पनि पुस २८ गते नै बोलाएको १७औं वार्षिक साधारण सभामा मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । कम्पनीले सभाको सूचना जारी गर्दा ‘यस वित्तीय संस्था र अन्य कुनै उपयूक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने गर्ने वा प्राप्ती गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयूक्त देखिएमा यस वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियूक्त गर्न तथा निजको पारिश्रमिक तोक्न, गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने’ प्रस्ताव गरेको थियो । यो प्रस्ताव सभाले पारित गरेको छ ।
समृद्धि फाइनान्सको पनि मर्जर तथा प्राप्तिमा जाने विशेष प्रस्ताव मंसिर ६ गते बसेको सभाले पारित गरिसकेको छ । फाइनान्सले ‘यस संस्थालाई अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिसन) को लागि छलफल गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत डिडिए गर्न नियमनकारी निकायसँग सम्पर्क गर्न, स्वीकृति लिन वा अन्य कुनै पनि विषयमा संशोधन, परिमार्जन, थपघट वा परिवर्तन गर्ने लगायत सो सम्बन्धमा प्रचलित नियमानुसार जे जो गर्नु पर्ने हो सोको लागि चाहिने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने’ प्रस्ताव गरेकमा सो प्रस्ताव पारित गरेको हो ।
पोखरा फाइनान्सले पुस २९ गते सम्पन्न गरेको २७ औं वार्षिक साधारणसभामा मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । कम्पनीले मर्जरमा जाने विषय विशेष प्रस्तावमा राखेको थियो । फाइनान्सले ‘अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा प्राप्ति/समाहित/गाभ्ने वा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक, वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता मुल्याङ्गनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने तथा मर्जरसँग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने’ प्रस्ताव पारित गरेको छ ।




