Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

बैंकमा व्याजदर घट्नेक्रम जारी : कात्तिकमा पनि अधिकाँसको घट्यो ब्याजदर !

२०८३ कार्तिक २ गते

बैंकिङ खबर / वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्दा निक्षेपको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ। असोजको तुलनामा कात्तिकमा व्यक्तिगत र संस्थागत दुवै निक्षेपको औसत अधिकतम ब्याजदर घटेको छ।

२० वाणिज्य बैंकको व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर असोजमा ४.०८९५ प्रतिशत रहेकामा कात्तिकमा घटेर ४.०१३ प्रतिशतमा झरेको छ। यो ०.०७६५ प्रतिशतविन्दुको गिरावट हो। त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि ३.०६६५ प्रतिशतबाट घटेर ३.००३ प्रतिशतमा कायम भएको छ।

कात्तिकमा व्यक्तिगत निक्षेपको ब्याजदर सबैभन्दा धेरै घटाउने बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको छ। बैंकले ब्याजदर ०.८ प्रतिशतविन्दुले घटाएर ३.७ प्रतिशतमा झारेको छ। संस्थागत निक्षेपको ब्याजदर पनि ०.५ प्रतिशतविन्दुले घटाएर ३ प्रतिशत कायम गरेको छ। नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशतमा सीमित गरेको छ। संस्थागत निक्षेपको ब्याजदर भने ०.२६ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशत कायम गरेको छ।

प्रभु बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशतमा झारेको छ। नेपाल एसबीआई बैंकले पनि ब्याजदर ०.१ प्रतिशतविन्दुले घटाएर ४ प्रतिशत कायम गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले क्रमशः ०.०५ र ०.०३ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। दुवै बैंकको व्यक्तिगत निक्षेपको नयाँ ब्याजदर ३.७ प्रतिशत छ।

कुन बैंकमा कति ब्याजदर ?

कात्तिकमा व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने बैंकमध्ये सानिमा, एनएमबी र माछापुच्छ्रे बैंक छन्। यी तीनै बैंकले ४.५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्। प्रभु बैंकले ४.२५ प्रतिशत तथा कृषि विकास बैंक र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर कायम गरेका छन्। लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकले ४ प्रतिशत ब्याजदर दिएका छन्। नेपाल एसबीआई र हिमालयन बैंकको व्यक्तिगत निक्षेपको ब्याजदर ४ प्रतिशत छ। सिटिजन्स बैंकले ३.८५ प्रतिशत, सिद्धार्थ बैंकले ३.७६ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंकले ३.७ प्रतिशत ब्याजदर कायम गरेका छन्। नबिल बैंकको ब्याजदर ३.७५ प्रतिशत छ।

ब्याजदर बढाउने बैंक पनि

अधिकांश बैंकले ब्याजदर घटाउँदा एभरेष्ट बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदर बढाएको छ। बैंकले असोजको तुलनामा ०.२५ प्रतिशतविन्दुले वृद्धि गरी कात्तिकमा ३.७५ प्रतिशत पुर्‍याएको छ। संस्थागत निक्षेपको ब्याजदर भने ३.२५ प्रतिशतमा यथावत् राखेको छ।

हिमालयन बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४ प्रतिशतमा स्थिर राखे पनि संस्थागत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ।

निक्षेपकर्तालाई कम प्रतिफल, कर्जाको ब्याजदरमा के असर पर्छ ?

निक्षेपको ब्याजदर घट्दा बैंकमा पैसा राख्ने सर्वसाधारणले पाउने प्रतिफल घट्छ। तर निक्षेपको ब्याजदर घटेकै आधारमा कर्जाको ब्याजदर पनि तत्काल र समान अनुपातमा घट्छ भन्ने हुँदैन। कर्जाको ब्याजदर बैंकको आधार दर, प्रिमियम र सम्बन्धित कर्जाको सर्तमा निर्भर हुन्छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहिरहने र कर्जा माग कमजोर हुने अवस्था कायम रहेमा निक्षेपको ब्याजदरमा थप दबाब पर्न सक्छ। यद्यपि, आगामी महिनाको ब्याजदर बैंकहरूको निक्षेप संकलन, कर्जा विस्तार र समग्र वित्तीय अवस्थाले निर्धारण गर्नेछ।