January 9th, 2025

सिटिजन्स बैंकको साढे ३ करोड चोरी प्रकरणः ९ जनालाई धरौटीमा छोड्न आदेश

बैंकिङ खबर/ एफवान सफ्टको कारण सिटिजन्स बैंकबाट भएको साढे ३ करोड चोरी घटनामा पक्राउ परेकामध्ये ९ जनालाई धरौटीमा छोड्न आदेश अदालतले आदेश दिएको छ ।

एफवान सफ्टको सिस्टम ह्याक गरेर बैंकको खाताबाट साढे तीन करोड रुपैयाँ चोरीको आरोपमा पक्राउ परेका ९ जना युवालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको हो ।

अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सिरहाको गोलबजार नगरपालिका–१० का २० वर्षीय राहुल ठाकुर र सोही ठाउँका १९ वर्षीय पुरुषोत्तम साहलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको हो ।

त्यस्तै, उदयपुरको बेलका नगरपालिका–५ का २७ वर्षीय दीपक थापा मगरलाई ५० हजार, सोही नगरपालिका–४ का २० वर्षीय कमल थापा मगरलाई २ लाख, सप्तरीका २१ वर्षीय कृष्ण रमण राउत, ३० वर्षीय सञ्जिवकुमार शर्मा, सुनसरीका २४ वर्षीय सन्देश राई, सुनसरीकै २२ वर्षीय सागर कुमार साह र ललितपुरकी ४० वर्षीया त्रिगुण रत्न बज्राचार्यलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

उनीहरुलाई प्रहरीले एफ्वान सफ्टको खाता ह्याक गरेर बैंकको खाताबाट तीन करोड ५१ लाख ५० हजार ३ सय ७० रुपैयाँ चोरीको आरोपमा पक्राउ गरेको थियो । उक्त प्रकरणमा प्रतिवादी बनाइएका अन्य १५ जना भने फरार छन् ।

उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको थियो ।

ह्याकरको समूहले विदेशमा बसेर ह्याक गर्ने र नेपालीहरुलाई प्रयोग गरेर उक्त रकम विभिन्न माध्यबाट विदेश लाने गरेको खुलेको हो । २४ जनाको खातामा रकम ट्रान्सफर गरेपछि त्यहाँबाट दोस्रो लेअरमा करिब ५ सय जनाको बैंक खाता प्रयोग गरिएको छ ।

विभिन्न लेअरमा बसेर ह्याकरको समूहले नेपालीलाई प्रयोग गरेर रकम बाहिर लगेको भेटिएको छ । १ अक्टोबर २०२४ देखि ४ अक्टोबर २०२४ सम्म पटक–पटक ह्याक गरेर एफ वान सफ्टको खाताको रकम निकालिएको थियो।