बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय सम्पत्ति झन् थपिने चिन्ता बढेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय सम्पत्ति (एनपीए) झन् बढ्ने देखिएको बताएका हुन् ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को पाँचौँ वार्षिक साधारण सभामा धारणा राख्दै पौडेलले कर्जा असुली प्रभावित भइरहेका कारण बैंकहरूको एनपीए झन् बढ्ने देखिएको बताए ।
अन्य मुलुकको तुलनामा नेपालमा बैंकहरूको ब्याज बाहेक अन्य आम्दानी कम रहेको बताउँदै उनले भने ‘ अन्य देशका बैंकहरूको तुलनामा ब्याज बाहेकका सेवा शुल्क नेपालका बैंकहरूको कम छ। यसकारण पनि बैंकहरूको आरओई कम हुँदै गएको देखिएको छ ,’ पौडेलले भने, ‘हाम्रा बैंकहरूको कुल आम्दानीमा ८० प्रतिशत ब्याज नै हो। अन्य मुलुकमा अन्य सेवा शुल्कको आम्दानी राम्रो हुन्छ।’
चिन्ता व्यक्त गरेपनि पौडेलले बैंकहरूले पुर्याएको योगदान बिर्सन नहुने पनि बताए । देशको जीडीपी बढ्नुमा बैकिङ क्षेत्र र निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ। उनका अनुसार बैंकबाट कर्जा लिइसकेपछि कर्जा लिने व्यक्ति जिम्मेवार बन्नु पर्छ ।
हालै निर्माण व्यवसायीहरूले सरकारले भुक्तानी नदिएकाले व्यवसायीहरूले ऋण र ब्याज तिर्न नसकेको बताएका छन् । राष्ट्र बैंकले दिएको मोहलत भित्र पनि सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी नगरेकोले सावा ब्याज भुक्तानी गर्न नसकिएको व्यवसायीहरूले तर्क गर्दै आन्दोलन गर्ने चेतावनी पनि दिएका थिए । यस सन्दर्भलाई जोडेर हेर्दा पौडेलको भनाइ आएको बुझिन्छ ।