बैंकिङ खबर/ भविष्यमा भुक्तान गर्ने गरी लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ । सामान्यतया ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्क्षय तथा अप्रत्क्षय प्रत्याभुती पनि पर्ने गर्दछ ।
बैंकहरूले संकलित निक्षेप तथा पुँजी विभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन कर्जा प्रदान गर्ने गर्दछ । यस्तो कर्जा लिँदा ऋणीले निम्न कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।
- तिर्न सक्ने क्षमताभन्दा बढीको कर्जा वा ऋण लिनु हुँदैन ।
- भविष्यमा ऋण चुक्ता गर्न नसकेमा व्यक्तिगत जमानीका आधारमा सो चुक्ता गर्नु एकाघर परिवारको समेत दायित्वभित्र पर्न सक्ने हुँदा ऋण लिनुपूर्व परिवारका सदस्यहरुसँग समेत सरसल्लाह गर्नुपर्छ ।
- नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त औपचारिक संस्थाहरुबाट मात्र ऋण लिने गरेमा अनावश्यक ठगी हुनबाट र चर्को ब्याजदरबाट बच्न सकिन्छ ।
- ऋण लिनुपूर्व तुलनात्मक रुपमा महँगो ब्याजदर नलगाउने, अन्यायपूर्ण सर्तहरु नराख्ने, सजिलै कम मार्जिनमा धितो राख्न सकिने, ब्याजका अतिरिक्त अन्य थप शुल्कहरु कम मात्र लिने, ऋण प्रक्रिया छिटो एवम् सरल भएका र किस्ता बुझाउन ढिलो भएमा चर्को जरिवाना तिर्नुपर्ने या नपर्ने जस्ता विषयहरु सोधपुछ गरेर वा जानकारी लिएर मात्र बैंक तथा वित्तीय संस्थाको छनौट गरी सो संस्थाबाट ऋण लिनु उपयुक्त हुन्छ ।
- ऋणको साँवा र ब्याजको किस्ता कहिले–कहिले र कति–कति रकम तिर्नुपर्ने हो सोबारे प्रष्ट जानकारी लिनुपर्छ ।
- तपाईंको स्थायी आम्दानीको एउटा निश्चित अंशले ऋणको साँवा ब्याज तिर्न पुग्ने हुनुपर्छ ।
- मुख्यतः उपभोगका लागि ऋण लिने बानीलाई घटाउँदै जानु पर्दछ । अर्थात् आम्दानी दिने काममा लगानी गर्नका लागि मात्र ऋण लिनु उपयुक्त हुन्छ ।
- ऋण लिएर लगानी गरेको परियोजनाबाट तुरून्तै आम्दानी हुँदैन भने त्यस्तो आम्दानी नहुञ्जेल ऋणको साँवा ब्याज कसरी भुक्तानी गर्ने हो सोको योजना पनि बनाउनुपर्छ ।
- जुन कामका लागि ऋण लिएको हो सोही काममा लगानी गरी आय आर्जन गर्नुपर्दछ । यदि त्यस्तो काममा लगानी गरिएन भने कर्जा दुरूपयोग भएको मानिनुका साथै पछि कर्जा भुक्तानी गर्न सकिन्न ।
- समयमा ऋण तिर्न नसकेमा हर्जाना तिर्नु पर्ने, धितो लिलामी हुन सक्ने, कारवाहीको सामना गर्नुपर्ने हुन सक्छ ।
- सामूहिक जमानीमा ऋण लिएको भए समूहका अन्य सदस्यले समेत ऋण लिन नपाउने हुँदा दबाब व्यहोर्नु पर्ने हुन्छ ।
- बैंकबाट लिएको ऋणको साँवा ब्याज समयमा बुझाउन नसक्दा अन्ततः कर्जा सूचना केन्द्रको कालो सूचीमा समेत पर्न जाने र ऋण लिने व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने हुँदा समयमै कर्जाको किस्ता बुझाउनेतर्फ सधैँ सजग रहनुपर्छ ।