बैंकिङ खबर/ हुण्डी कारोबारीको संख्या बढ्दै गएको छ । प्रहरीले हुन्डी कारोबारमा संलग्न चारजनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा श्री बालाजी इम्पोर्ट प्रालिका सञ्चालक गुल्मी तम्घास नगरपालिका– ४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे, भारत राजस्थान श्रीढुगरगढ घर भएका ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौं महानगरपालिका– १ कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका– १६ बस्ने ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् ।
उनीहरूलाई काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिमा हुन्डीसम्बन्धी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले नगद २६ लाख ५० हजार रुपैयाँ र मोबाइल पाँच थानसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसअघि मंगलबार राति मात्रै काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको थियो । स्रोत नखुलेको ६८ लाख रुपैयाँ नगदसहित उनीहरूलाई प्रहरीले मंगलबार राति नियन्त्रणमा लिइएको हो ।
काठमाडौँ महानगर ३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगर १० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, वडा नं.७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका ७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा बिर्तामोड नगरपालिका ५ का २७ वर्षीय युवराज सुवेदी पक्राउ परेका हुन् ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले प्रदेश३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई अवैध नगदसहित पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।