मेगा बैंक नेपालले ०७४ असार मसान्तभित्र राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि कतिपय बैंकहरु चुक्ता पुँजी पुर्याउन मर्जर वा एक्वायरमा गईरहेका छन् । तर पुँजी बढाउनका लागि अब मेगा बैंकले कुनै अर्को संस्थासँग मर्जरमा पर्नेछैन भने कुनै संस्थालाई प्राप्ति पनि गर्नुपर्दैन । अब उसले हकप्रद सेयर र बोनस जारी गरेरै चुक्ता पुँजी आठ अर्ब नघाउने छ ।
बोनस र हकप्रद सेयरपछि चुक्ता पुँजी कति ?
बैंकले १३.२५ प्रतिशत बोनस सेयर र ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेर चुक्ता पुँजी पुर्याउने जनाएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । हाल मेगा बैंकको चुक्ता पुँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ । केही समयअघि विक्री गरेको २५ प्रतिशत हकप्रद जोड्दा बैंकको पुँजी ४ अर्ब ५ करोड रुपैयाँ पुगिसकेको छ । त्यसमा १३.२५ प्रतिशत बोनस र फेरि ६५ प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ नाघ्ने सो बैंकले जनाएको छ ।