सिद्धार्थ बैंकले लिमिटेडले आफ्ना सेयरधनीलाई ४८.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । प्रस्तावित बोनस शेयरको उक्त रकम बैंकले हालै जारी गरेको हकप्रद शेयर बाँडफाँड पछिको पुँजीको ३९ प्रतिशत हुन आउँछ । बैंकको आइतबार बसेको सञ्चालक समितिको २५९ औँ बैठकले उक्त प्रस्ताव अघि सारेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस वितरण गर्न लागेको हो । गत आर्थिक वर्षमा सिद्धार्थ बैंकले एक अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको थियो ।
गत कात्तिक ११ गतेदेखि मंसिर १५ गतेसम्म २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको बैंकले हकप्रद जारी गर्नुअघिको चुक्तापुँजीको ४८.७५ प्रतिशतले हुन आउने एक अर्ब ४७ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । उक्त बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गर्न बाँकी छ ।
हाल सिद्धार्थ बैंकको चुक्तापुँजी तीन अर्ब २२ करोड रुपैयाँ रहेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी पौने पाँच अर्ब रुपैयाँ नाघ्नेछ । तीन अर्ब २२ करोड रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर जोड्दा बैंकको चुक्तापुँजी चार अर्ब ७९ करोड ७३ लाख रुपैयाँ नाघ्नेछ ।


