बैंकिङ खबर/ कुनै पनि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात आईपीओ जारी गरे पश्चात सूचीकरण भैसकेको संगठित संस्थाले आफ्नो पुँजी वृद्धि गर्नु परेमा धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न सक्छ र यसलाईनै एफपीओ भनिन्छ । यो निष्काशन गर्नका मुख्य कारण संगठित संस्थाले आफ्नो व्यवसाय वृद्धि वा विस्तार गर्न नै हो ।
सूचीकृत संगठित संस्थाको कूल चुक्ता पुँजीको ७० प्रतिशत संस्थापक सेयरधनीको र ३० प्रतिशत सर्वसाधारण सेयरधनीको हुने प्रावधान रहेको हुनाले पनि उक्त अनुपात कायम नभएमा सो पुँजी कायम गर्न सूचीकृत संगठित संस्थाहरूले एफपीओ निष्काशन गर्छन् ।
सबै सूचीकृत कम्पनीहरूले एफपीओ निष्काशन गर्न पाउँदैनन्, यो निष्काशन गर्न पनि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिमका शर्तहरू पुरा गरेको हुनुपर्छ ।
विगत ५ वर्षमा कम्तीमा पछिल्लो ३ वर्ष खुद मुनाफामा सञ्चालन भई प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजी भन्दा बढी भएको हुनु पर्यो, त्यस्तो संगठित संस्थाको आईपीओ निष्काशन भएको ३ वर्ष पूरा भएको, एफपीओ निष्काशन गर्ने सम्बन्धमा वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएको र अंकित मूल्य भन्दा बढी मूल्य तोकी निष्काशन गर्ने भएमा मूल्य निर्धारण गरिएको विधि र सोको औचित्य पुष्टि गर्ने आधार समेत उल्लेख भएको हनुपर्छ ।
नियमावलीमा भएको पछिल्लो संशोधनले सूचीकृत संगठित संस्थाले प्रिमियममा एफपीओ निष्काशन गर्न आवश्यक परेमा त्यस्तो संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति सेयर नेटवर्थ भन्दा बढी नहुने गरी प्रिमियम सहितको निष्काशन मूल्य निर्धारण गर्नु पर्ने प्रवधान समेत थप गरिएको छ ।
एफपीओका फाइदाहरू भन्नु पर्दा मुख्य रुपमा सूचीकृत संगठित संस्थाहरूले आफ्नो व्यवसाय वृद्धि गर्न आवश्यक पुँजी प्राप्त गर्न सक्छन् । प्रिमियम सहितको मूल्यमा निष्काशन गर्दा प्रिमियम बापत प्राप्त रकम जगेडा कोषमा जाने र सोबाट भविस्यमा बोनश सेयर समेत जारी गर्न सकिन्छ । एफपीओ मार्फत नयाँ सेयरधनीहरूको प्रवेश हुने र सूचीकृत संगठित संस्थाको साखमा समेत अभिवृद्धि हुने अवस्था रहन्छ ।
धितोपत्र निष्कासन निर्देशिका २०६५ को दफा ९ मा नयाँ निष्कासन (फर्दर पब्लिक इस्यू) सम्बन्धी व्यवस्था गरिएको छ । यस दफा अनुसार एफपीओ निष्कासन गर्न चाहने संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नयाँ निष्कासन गर्न सकिने स्पष्ट व्यवस्था हुनुपर्ने छ ।
एफपीओ निष्काशन भएपछि पुँजी संरचना तथा सञ्चालक समितिमा हुने परिवर्तनसम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा स्पष्ट व्यवस्था हुनुपर्नेछ । एफपीओ जारी गर्न सञ्चालक समिति तथा साधारण सभाको निर्णय तथा विगत पाँच वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण आवश्यक पर्नेछ ।
यसैगरी, दफा ११ मा प्रिमियममा धितोपत्र निष्कासन गर्ने प्रावधान राखिएको छ । यस दफामा साधारण सेयर प्रिमियममा निष्कासन गर्ने संस्थाले कानुनले तोकेका सर्त पूरा हुनुपर्नेछ भनी उल्लेख गरिएको छ । प्रिमियममा जारी गर्न चाहेको सेयरको मूल्य गणना विधि र आधार उल्लेख गर्नुपर्नेछ । यी आधारसहित धितोपत्र बोर्डमा निवेदन दिएपछि बोर्डले अध्ययन गरी उपयुक्त देखिएमा प्रिमियममा धितोपत्र निष्काशन गर्न अनुमति प्रदान गर्ने निर्देशिकामा उल्लेख छ ।