बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले यूएसएसडीमा आधारित भुक्तानीका लागि राष्ट्र बैंक र दूरसञ्चार प्राधिकरणले लिनुपर्ने छुट्टाछुट्टै र संयुक्त रूपमा लिनुपर्ने जिम्मेवारीहरु उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले नेपालमा यूएसएसडीमा आधारित भुक्तानी प्रणाली यसको नियमन र सुझाव सम्बन्धमा गरेको एक अध्ययनका क्रममा उक्त जिम्मेवारी उल्लेख गरेको हो ।
राष्ट्र बैंक र दूरसञ्चार प्राधिकरणले संयुक्त रूपमा गर्नुपर्ने जिम्मेवारी
- नियामक निकाय र अन्य सरोकारवाला (नेपाल राष्ट्र बैंकले नेपाल दुरसञ्चार प्राधिकरण, बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक/भुक्तानी सेवा प्रदायक) ले यूएसएसडीमा आधारित भुक्तानी प्रणालीको पहुँच, मूल्य र वा गुणस्तर सम्बन्धी मुद्दामा संयुक्त निर्णय गर्न एक समन्वित परामर्श समिति विकास गर्नुपर्छ ।
- नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्राधिकरणले यूएसएसडी भुक्तानीसँग सम्बन्धित विवादको समयमा समाधान सुनिश्चित गर्न नियामक निकाय र अनुमति प्राप्त संस्थाका भूमिका र जिम्मेवारी निर्धारण गर्न संयुक्त विवाद समाधान संयन्त्र विकास गर्नुपर्छ । मोबाइल नेटवर्क अपरेटर/भुक्तानी सेवा प्रदायक/बैंक वित्तीय संस्थाका लागि यूएसएसडी भुक्तानीसँग सम्बन्धित विवाद समाधानका लागि निश्चित समयसीमा हुनुपर्छ ।
- नेपाल दुरसञ्चार प्राधिकरणले यूएसएसडी सेवाका लागि न्यूनतम गुणस्तर मापदण्ड लागु गर्नुपर्छ । त्यसबाट सेसन ड्रप हुने दर नियन्त्रण गर्न सकियोस् ।
- नेपाल राष्ट्र बैंक र नेपाल दूरसञचार प्राधिकरणले अन्तिम प्रयोगकर्ताका लागि यूएसएसडी भुक्तानी शुल्क संयुक्त रूपमा निर्धारण गर्नुपर्छ । त्यसबाट शुल्क कम राख्न र प्रयोगकर्तालाई यो माध्यम प्रयोग गर्न उत्प्रेरित गर्न सकियोस् ।
- नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्राधिकरणले प्राविधिक र सुरक्षा मापदण्ड संयुक्त रूपमा निर्धारण गर्नुपर्छ । त्यसबाट यो माध्यमले साइबर सुरक्षा आवश्यकता पूरा गर्न सकियोस् ।
- नेपाल राष्ट्र बैंक र नेपाल दूरसञचार प्राधिकरणले भुक्तानी प्रणाली सञ्चालक/भुक्तानी सेवा प्रदायक र मोबाइल सेवा अपरेटरलाई मोबाइल वित्तीय सेवाका लागि यूएसएसडी च्यानललाई बहुभाषिक समर्थन गर्न प्रणाली विकास गर्न निर्देशन दिनुपर्छ ।
राष्ट्र बैंकले लिनुपर्ने जिम्मेवारी
- वित्तीय क्षेत्रको निकाय नेपाल राष्ट्र बैंकले अनुमति प्राप्त बैंकहरू/भुक्तानी प्रणाली सञ्चालक/भुक्तानी सेवा प्रदायकलाई यूएसएसडीमा आधारित भुक्तानी प्रणालीलाई एक मानक सुविधा रूपमा अनिवार्य रूपमा लागु गर्न निर्देशन दिनु हुँदैन । तर, भुक्तानी सम्बन्धी संस्थालाई आफ्नो पूँजी र सञ्चालन खर्च ध्यानमा राख्दै, नवीनतम मोबाइल वित्तीय एपलाई वैकल्पिक रूपमा यूएसएसडी लागु गर्न अनुमति दिनुपर्छ ।
- यूएसएसडीमा आधारित भुक्तानी च्यानल प्रयोग गर्ने अनुमति प्राप्त संस्थालाई आफ्नो प्रणाली सबै मोबाइल सेवा प्रदायकका यूएसएसडी गेटवेसँग अन्तर्क्रियाशील बनाउन अनिवार्य गरिनुपर्छ ।
- यूएसएसडीमा आधारित भुक्तानी प्रणालीका लागि यस च्यानलसँग सम्बन्धित जोखिम र सीमा ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले कारोबारका सीमा तोक्नुपर्छ ।
- भुक्तानी सेवा प्रदायकले यूएसएसडीमा आधारित भुक्तानी प्रणाली विस्तार गर्न एजेन्ट नेटवर्क प्रयोग गर्ने अवस्थामा नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई एजेन्टको विस्तारित मूल्यांकन गर्न निर्देशन दिनुपर्छ ।
- नेपाल राष्ट्र बैंकले डाटा साझेदारी र गोपनीयता सम्बन्धी निर्देशन जारी गर्नुपर्छ । जसले यूएसएसडी च्यानलले अन्य सम्बद्ध प्रणालीको सूचनामा सम्झौता गर्न नपरोस् भन्ने सुनिश्चित गर्नुपर्छ ।
- नेपाल राष्ट्र बैंकले उपभोक्ता संरक्षण सम्बन्धी निर्देशन जारी गर्नुपर्छ । जसमा विवाद समाधान संयन्त्र, निश्चित समयसीमा आदि समेटिनुपर्छ ।
दूरसञ्चार प्राधिकरणले लिनुपर्ने जिम्मेवारी
- दूरसञ्चार प्राधिकरण/नियामकले सबै मोबाइल सेवा प्रदायकलाई मोबाइल वित्तीय सेवाका लागि यूएसएसडी उपलब्ध गराउन अनिवार्य गर्नुपर्छ । समान ग्राहक अनुभव सुनिश्चित गर्न, प्राधिकरणले सबै मोबाइल सेवा प्रदायकलार्ई मोबाइल वित्तीय सेवाका लागि एउटै यूएसएसडी कोड लागु गर्न अनिवार्य गर्ने सम्भावना अन्वेषण गर्नुपर्छ ।
- नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई यूएसएसडी गेटवे पहुँच सबै मोबाइल सेवा प्रदायक/भुक्तानी सेवा प्रदायक/बैंक तथा वित्तीय संस्थालाई समान पहुँच दिने सुनिश्चित गर्न नियम जारी गर्नुपर्छ । जसमा विभेदपूर्ण मूल्य निर्धारण नहोस् भनेर नेपाल दूरसञ्चार प्राधिकरणले यूएसएसडी गेटवे पहुँच गर्न मूल्य निर्धारणलाई नियमन गर्नुपर्छ ।
- नेपाल दूरसञ्चार प्राधिकरणले भुक्तानी प्रणालीहरूको अन्तक्र्रियाशीलता सुनिश्चित गर्न यूएसएसडी गेटवेको अन्तक्र्रियाशीलतालाई प्राथमिकता दिने नीति नियम ल्याउनुपर्छ ।