October 4th, 2024

उद्यमशिलता र वित्तीय पहुँच अभिवृद्धिमा लघुवित्तको भूमिका महत्वपूर्ण : रामबहादुर यादव

रामबहादुर यादव
अध्यक्ष, लघुवित्त बैंकर्स संघ

उद्यमशिलता र वित्तीय साक्षरता दुवै एक अर्काका परिपूरक हुन् । वित्तीय साक्षरता, वित्तीय व्यवस्थापनको ज्ञान नभइ उद्यमशिलताका कुरा अगाडि बढाउन गाह्रो हुन्छ । दुवै आफैमा महत्वपूर्ण कुरा हो ।

ग्रामीण क्षेत्र, दुरदराजमा उद्यमशिलताको विकास, वित्तीय पहुँच अभिवृद्धि गर्न लघुवित्त क्षेत्रको भूमिका महत्वपूर्ण छ । नेपालको ग्रामीण र दुरदराजमा जोसँग काम गर्ने जोस, जाँगर छ । जोसँग म केही गर्न पाउँ भन्ने अभिलासा छ । तर पैसा पाउन सकेको छैन भने त्यस्ता व्यक्तिहरुलाई लक्षित गरेर लघुवित्त संस्थाले काम गरिरहेको छ ।

लघुवित्त संस्थाहरु नेपालको लगभग ६० लाख घर परिवारमा पुगेको छ । ६० लाख घरपरिवारमध्ये २७ लाख दिदी बहिनीहरुले त्यसबाट कर्जा लिएर उद्यमशिलताका काम अगाडि बढाउनुभएको छ ।

बैंक वित्तीय संस्थाबाट कर्जाको स्रोतबाट मात्रै उद्यमशिलता विकास हुन्छ भन्ने सम्भव छैन । मान्छेको आर्थिक, सामाजिक अभिवृद्धिको लागि कर्जाले भूमिका खेल्न सक्छ । तर उद्यमशिलताको विकास पूर्ण हुन सक्दैन ।

बैंकवित्त, लघुवित्त संस्थाहरुबाट गरिबी निवारण हुन सक्छ, धनि हुन सक्छ भन्नु पनि असम्भव कुरा हो । यसमा वित्तीय स्रोत महत्वपूर्ण कुरा हो । जुन लघुवित्तले प्रवाह गरी राखेको छ । लघुवित्त संस्थाहरुले महिला उद्यमी, वित्तीय साक्षरता र एउटा गरिव परिवारको वित्तीय स्रोत उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।

लघुवित्त संस्थाहरुको जुन कार्यक्रम छ, त्यसलाई सरकारले पनि महत्व दिएर एउटा छुट्टै ‘म्याकेनिजम’ बनाउन आवश्यक छ । ६० लाख घरपरिवारहरु, गरिब, मध्यम परिवार हो । त्यो परिवारमा पुगेर एउटा फाउण्डेसन तयार भएको अवस्था छ । २७ लाख दिदी बहिनीले त्यहाँबाट कर्जा लिनुभएको छ । ६० लाखमध्ये ५८ लाख दिदी बहिनीहरु मात्रै जोडिएको अवस्था छ ।

त्यसमा लघुवित्त संस्थाहरु आफैले मात्र पनि गर्न सक्दैन । किनभने यो ‘घ’ वर्गको वित्तीय संस्था हो । यसका केही सिमितताहरु पनि छ । क्षमताका कुराहरु छ ।

सरकारले उद्यमशिलता विकास, वित्तीय साक्षरता, सचेतना अभिवृद्धि जस्ता कार्यक्रमहरुलाई एक ठाउँमा जोड्नुपर्छ । किनकी सरकारको लक्षित वर्ग भनेको लुघवित्तका सदस्यहरु नै हुन् । त्यहि घरपरिवार हो ।

लघुवित्तका कार्यक्रमहरुलाई संघीय, प्रदेश र स्थानीय सरकारले‘इन्टिके्रटेड एप्रोज’मा सँगसँगै लिएर जान जरुरी छ । यसले समाजमा एउटा वित्तीय सेवा पनि गयो । त्यहाँ सिप विकासका कुराहरु, चेतना अभिवृद्धिका कार्यक्रम र अन्य चेतना जगाउने कार्यक्रम सँगसँगै लिएर गयौं भने छिटो भन्दा छिटो प्रगती गर्न सक्छन् र उद्यमशिलतातर्फ जान सकिन्छ ।

उद्यमशिलता, उत्पादनका कुरा गरिरहँदा यसका धेरै पाटाहरु छन् । लघुवित्त संस्थाहरुले अहिले पाँच खर्ब लगानी गरेको छ । सोमध्ये ५० प्रतिशत रकम कृषिमा गएको छ । जहाँ साना किसानहरु हुनुहुन्छ । जबसम्म साना–साना किसानहरुलाई सपोर्ट गर्दैनौं, तबसम्म उनीहरुमा उद्यमशिलताको विकास हुँदैन । १० कट्ठा, २० कट्ठा जग्गामा काम गर्दा उसलाई सपोर्ट चाहिन्छ ।

बैंकबाट उसले धितो वा बिना धितो पैसा पायो । सरकारले त्यसमा बिउबिज, प्राविधिक ज्ञान, उत्पादन भइसकेपछि त्यसको बिक्रीवितरण, भण्डारणमा सहयोग गर्नुपर्छ ।

यो सबै कुराहरु बैंकवित्तीय संस्थाहरुबाट सम्भव छैन । त्यसकारण सरकार बैंकवित्तीय संस्थासँग यस्ता कार्यक्रमहरुमा जोडिएर अगाडि बढ्न सक्यो भने हामीले लघु उद्यमशिलता विकासमा ठूलो भूमिका खेल्न सक्छौं । यो कुराहरु हामीले बारम्बार सरकारलाई भनि पनि राखेका छौं । अहिले नेपाल राष्ट्र बैंकले पनि उद्यमशिलता विकासका लागि कार्यक्रम र नीतिहरु ल्याएको अवस्था छ ।

अहिले काम गर्न पैसाको अभाव भन्ने छैन । गाउँगाउँमा पैसा छ । घरघरमा छ । खाली हाम्रो अठोटका कुराहरु छन् । त्यसलाई अगाडि बढाउन सक्ने ज्ञान, सीप र लगनशीलता कुराहरु छन् । उमशिलता विकास गरी सबै नागरिक व्यवसायीक होस् भन्ने हाम्रो मनाशय हो ।

लघुवित्तबाट लगेको कर्जाबाट कम्तिमा उसले १, २ जनालाई रोजगारी सिर्जन गर्न सकोस् । हरेक व्यक्तिले ५ जना, १० जना, २० जना, ५० जना उद्यमीशिलता विकास गर्न सकोस् । उद्यमी भयो भने दुई, दुई जनालाई रोजगारी प्रदान गर्न सक्यो भने धेरै मान्छेलाई रोजगारी सिर्जना गर्न सक्ने आधार बन्छ । जुन भनेको उद्यमशिलता नै हो । यदी यो देशमा रोजगारी सिर्जना गर्ने हो भने युवाहरुलाई देशमै राखेर काम गर्ने हो भने उद्यमशिलताको विकल्प छैन् ।

त्यसका लागि सरकारको पनि एउटा ठोस योजना, नीति, संयन्त्र बनाएर अगाडि बढ्नुपर्छ । जबसम्म उद्यमशिलता विकास हुँदैन, बैंकवित्त क्षेत्रहरु पनि राम्रो हुँदैन । यदी उद्यमशिलता विकास भएन, उत्पादन राम्रो भएन, बिक्री वितरण राम्रो भएन, आम्दानी राम्रो भएन भने बैंकवित्त क्षेत्रको असुली पनि राम्रो हुँदैन ।

हामीले हाम्रो देशको उत्पादनलाई नै प्राथमिकतामा राख्नुप¥यो । त्यसलाई बिक्री वितरण गर्न सक्ने सरकारले पोलिसी बनाउनु पर्‍यो । सरकारले आफ्नो उत्पादन भएको वस्तुलाई जसरी पनि खपत गर्ने, किसानलाई मिहेनतको प्रतिफल दिने नीतिहरु बनाउनुपर्छ । यो नीति नआइ उद्यमशिलता परिकल्पना मात्र हुन्छ, सम्भव छैन । यसमा लघुवित्त संस्था, बैंकवित्त संस्था लाग्नुपर्छ ।

हामी गाउँ–गाउँमा, घरघरमा उद्यमशिलता विकास होस्, गरिब परिवार समृद्धि होस्, एउटा उन्नत ग्रामीण समाज तयार होस् । ग्रामीण अर्थतन्त्र व्यापक रुपमा चलायमान होस् भन्न चाहन्छौं ।

(लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले मिडिया इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको ‘फाइनान्सियल लिट्रेसी, विजनेश एण्ड लिडरसीप समिट’ कार्यक्रममा राख्नुभएको मन्तव्यको सम्पादित अंश ।)