October 3rd, 2024

साझा रुची र चासोको विषय बन्दै डिजिटल बैंकिङ

बैंकिङ खबर/ डिजिटल बैंकिङ अर्थात् भौतिक रुपमा उपस्थित नभइ आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली हो । अर्थात् डिजिटल बैंकिङ एक नयाँ युग पनि हो ।  अब हामीले पहिलेको जस्तो पैसाको लेनदेन गर्नका लागि बैंकको शाखाहरुमा धाइरहन पर्दैन ।

घरमै बसेर केही मिनेटमै कम्प्यूटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ । यसको अतिरिक्त पैसा पनि लाग्दैन । डिजिटल बैंकिङले ग्राहकहरुको दैनिकी एवम् जीवनशैलीमा बैंकलाई प्रविधिबाट सम्बन्ध जोड्ने गर्दछ ।

पहिले हामी पैसा निकाल्न घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यता थियो भने अहिले एटिएमको माध्यमबाट सजिलै केही छिनमै नगद प्राप्त गर्न सक्छौं।

यस डिजिटल युगले सबैकुरा सहज बनाइदिएको छ, हामी जुनसुकै स्थानमा गएर डेबिट कार्डद्वारा नगद बिना नै कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्न सक्छौं । जसबाट नगद बोक्न हुने झन्झट, हराउने, चोरी हुने जोखिमबाट बच्न सकिन्छ ।

नेपालमा डिजिटल बैंकिङको शुरुवात

नेपालमा डिजिटल बैंकिङको शुरुवात सन् १९९३ तिर भएको हो । यस्तै, इन्टरनेट बैंकिङको थालनी सन् २००२ मा भएको हो । सन् २००३ मा भिसा डेबिट कार्ड र २००४ मा मोबाइल बैंकिङ शुरु भएको पाइन्छ ।

यद्यपी यसको प्रयोग र विस्तारमा केही समय भने लाग्यो । कोरोना महामारीमा समयमा डिजिटल बैंकिङको प्रयोग झन् ह्वात्तै बढेको थियो । अहिले खाता खोल्ने, भुक्तानी गर्ने, पैसा पठाउने, ऋण आवेदन दिने जस्ता बैंकिङ सेवाहरू अहिले घर बसेरै गर्न सकिन्छ ।

यसर्थ, सूचना प्रविधिमा भएको विकाससँगै डिजिटल बैंकिङ साझा रुची एवम् चासोको विषय बनेकाले यसको प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गएका छन् ।

आज हरेकको धेरै समय सामाजिक सञ्जाल तथा मोबाइल फोनमा व्यतित हुन्छ र यो सबैको पहुँचमा पनि छ । यस्तो प्रविधिमार्फत मानिसहरुलाई बैंकसँग जोड्न र जोडिन पनि सहज छ । यस प्रकारको बैंकिङ प्रविधिले घरमै बसेर सबै कारोबार गर्न सहज हुन्छ ।

यस बाहेक, कम्पनीहरुले डिजिटल भुक्तानीबाट आफ्नो ग्राहकहरुलाई छूट र क्यासब्याकको आकर्षक अफरहरु समेत प्रदान गरिरहेका हुन्छन् । आजभोली क्यासलेस कारोबार रुची, चासो र भरपर्दो माध्यम बनेको छ ।

यसको प्रयोग पनि सहज, सरल र भरपर्दो छ । आज लगभग हरेक साना, ठूला शहरहरुमा यसको प्रयोग बढीरहेको छ । कुनै पनि स्थानमा वस्तु तथा सेवाको उपभोग गरेवापत पैसाको साटो डिजिटल पेमेन्ट गर्न सकिन्छ । हरेक साना ठुला पसलमा क्यु आर कोडको उपलब्धता रहेको छ । बैंकहरुले समेत सबै क्षेत्रमा क्यु आर कोड सेवा प्रदान गरिरहेका छन् ।

डिजिटल बैंकिङको बढ्दो प्रयोग

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा ३ लाख १२ हजारले मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या थपिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार भुक्तानी साधनहरुमध्येको एक मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या साउन मसान्तसम्म २ करोड ४९ लाख ६१ हजार १६५ पुगेको हो ।

अघिल्लो महिना २०८१ असार मसान्तसम्म यस्तो संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ रहेको थियो । समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत कूल ३ खर्ब ७७ अर्ब ६३ करोड २० लाख रुपैयाँ भूक्तानी कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ । २०८१ असारमा यस्तो कारोबार ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ भएको थियो ।

समीक्षा अवधिमा २ करोड ४२ लाख ५७ हजार विभिन्न भुक्तानी वालेट प्रयोगकर्ताहरुमार्फत जम्मा ४३ अर्ब ६९ करोड ८० लाख रुपैयाँ कारोबार भएको बैंकले जनाएको छ । अघिल्लो असार पहिलो वालेटमार्फत ३८ अर्ब १४ करोड ८० लाख रुपैयाँ कारोबार भएको थियो ।

यसैगरी समीक्षा अवधिमा आरटीजीएस सिस्टममार्फत १०८ खर्ब ३ अर्ब २ करोड रुपैयाँ कारोबार भएकोमा कनेक्ट आईपीएसमार्फत ५ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ, इन्टरनेट बैंकिङमार्फत २२ अर्ब ४९ करोड रुपैयाँ कारोबार भएको बैंकले जनाएको छ ।

यस्तै समीक्षा अवधिमा डेविट (एटीएम) कार्डमार्फत ९१ अर्ब ९३ करोड रुपैयाँ कारोबार हुँदा क्रेडिट कार्डमार्फत जम्मा २ अर्ब रुपैयाँको कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ ।

डिजिटल बैंकिङका फाइदाहरु

१. घरमै बसेर अनलाइन मार्फत देश, विदेशबाट डिजिटल भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ ।
२. इन्टरनेट बैंकिङको सहयोगमा चेक बुक र एटीएम कार्डको लागि आवेदन दिन सक्नुहुन्छ । बैंकमा धाइरहनु पर्दैन ।
३. तपाईले घरमै बसेर आफ्नो खाताको रकम जाँच गर्न सक्नुहुन्छ ।
४. यदि तपाई एक व्यापारी हुनुहुन्छ भने क्यु आर कोड मार्फत ग्राहक मार्फत भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ ।
५. तपाईले आफ्नो मोबाइलबाट पसल, शपिङमल, होटल आदिमा अनलाइन भुक्तानी गर्न सक्नुहुन्छ ।

यसको प्रयोग सुरक्षित छ, ह्याक हुने सम्भावना छ 

यो एक महत्वपूर्ण प्रश्न हो जुन सबैको चासोको विषय बनेको छ । के यसको प्रयोग सुरक्षित छ रु के यसलाई ह्याक गर्न सकिन्छ रु जवाफ– यसको प्रयोग सुरक्षित छ ।

डिजिटल बैंकिंग प्रणाली ह्याक गर्न कठिन छ । तर यदि हामी यसको प्रयोगमा लापरवाह गर्छौ भने नोक्सान पनि हुन सक्छ । हाम्रो डिजिटल अकाउन्ट सुरक्षित राख्नका लागि केहि महत्वपूर्ण बिषयहरुमा ध्यान दिन आवश्यक हुन्छ ।

१. आफ्नो डेबिट कार्ड नम्बर, म्याद सकिने मिति, इन्टरनेट बैंकिङसँग सम्बन्धित आईडी र पासवर्ड कसैसग सेयर नगर्नुहोस् ।
२. बैंकहरुले कहिल्यै पनी ग्राहकहरुलाई खातासँंग सम्बन्धित कुनै जानकारी सोध्न फोन गर्दैनन् । त्यसैले फोन मार्फत कसैले खाताका बारेमा सोधखोज गरेमा कुनै जानकारी नदिई सम्बन्धित निकायमा तुरुन्त सम्पर्क गर्नुहोस् ।

डिजिटल हुनुको अर्थ के हो र ?

आम सर्वसाधारणका लागि डिजिटल बन्नुको अर्थ हो । नगद लेनदेनबाट बचेर अनलाइन (मोबाइल, डेबिट कार्ड आदि) लेनदेन को उपयोग गर्नु, कागजी कामलाई कम गर्नु । सरकारी तथा बैंकिङ कार्यका साथै व्यापारिक गतिविधिमा पारदर्शिता आउनु । जालसाजी ठगी र घूसखोरी आदि बाट बच्नु ।

डिजिटल बैंकिङको सहज प्रयोगमा मोबाइल बैंकिंङ

मोबाइल आज हरेक मानिसहरुको आवश्यकता हो र यो सबैको पहुँचमा समेत छ । मानिसहरु आफ्नो सबै काम मोबाइलबाट नै गर्न सहज मान्छन् । यसै कारणले धेरै जसो मानिसहरु आजकल मोबाइल बैंकिङको अधिक उपयोग गर्छन् । मोबाइल बैंकिङ एक यस्तो प्रणाली हो जसको माध्यमबाट मानिसहरु आफ्नो फोनको माध्यमबाट सबै बैंकिङ सुविधाहरुको लाभ उठाउन सक्छन् । मोबाइल बैंकिङ भविष्यमा पनि अधिक सुविधाजनक र सजिलो हुने अपेक्षा गर्न सकिन्छ ।

डिजिटल बैंकिङ लोकप्रिय बनाउनका लागि के गर्ने ?

डिजिटल प्रयोग देशको विकास अत्यावश्यक छ । यसका लागि बैंकको महत्वपूर्ण योगदान छ । किनभने बैंक अर्थव्यवस्थाको जग हो । यो एक महत्वपूर्ण सुरुवात हो । यसको प्रयोगबाट पारदर्शिता, सबै क्षेत्रमा सेवाको सहज र सरल पहुँच र अर्थव्यवस्थालाई नगदरहित हुन सक्छ ।

यस्तै, डिजिटल बैंकिङ लोकप्रिय बनाउनका लागि वित्तीय साक्षरतामा जोड दिन आवश्यक छ । यसका लागि र्बैक क्षेत्रमा समेत आपसी सहयोगको आवश्यक्ता छ । अर्थात गाउँ गाउँमा वित्तीय साक्षरताको स्तरमा सुधार गर्न सकियोस् । विशेषगरी दुर दराज क्षेत्रमा हुने डिजिटल बैंकिङको विस्तारमा सहयोग मिल्न सकोस् ।