बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले तोके बमोजिम ‘घ’ वर्गको इजाजतपत्र लिएर काम गरेका संस्थाहरु नै लघुवित्त संस्था हुन् । ‘घ’ वर्गका बैंकहरुलाई माइक्रोफाइनान्स तथा लघुवित्त वित्तीय संस्था भनिन्छ ।
लघुवित्तहरु ग्रामीण क्षेत्रमा थोरै थोरै पुँजी परिचालन गरेर सञ्चालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमै पुगेर वित्तीय चेतनाको विकास गर्ने एवं थोरै थोरै ऋण प्रवाह गर्ने गर्दछन् ।
लघुवित्त विकास बैंकहरुबाट बिना धितो ऋण प्राप्त हुन्छ । लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको प्रतिवेदन अनुसार नेपालमा लघुवित्त वित्तीय संस्थाहरुले ४ खर्ब ५३ अर्ब ११ करोड रुपैयाँ कुल कर्जा प्रवाह गरेका छन् ।
प्रतिवेदनका अनुसार २०८० साल चैत्र मसान्तसम्म ५५ वटा लघुवित्त वित्तीय संस्था छन् । त्यसमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था र बाँकी ५२ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् । कुल बचत १ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ र सापटी रकम २ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ छ ।
पछिल्लो समय लघुवित्त खारेजीको नारा समेत लाग्न थालेको सन्दर्भमा सरोकारवालाहरुले ग्रामीण अर्थतन्त्रको विकास एवम् गरिबी निवारणका लागि लघुवित्तको विकल्प नभएको बताउँछन् ।
स्थानीयस्तरमा उत्पादन एवम् उद्यमशीलता वृद्धि, रोजगारी सिर्जना तथा जनताको आर्थिक उन्नतिका लागि लघुवित्त अपरिहार्य भएको उनीहरुको बुझाइ छ ।
प्रतिनिधिसभा सांसद भगवती चौधरी लघुवित्त क्षेत्रमा समस्या देखिएको र यसको समाधान सबै पक्ष मिलेर गर्न सकिने बताउँछिन् ।
तर, आन्दोलनका नाममा लघुवित्त संस्थालाई मात्रै दोषी करार गर्न नमिल्ने उनको भनाइ छ । ‘अहिले लघुवित्तमा समस्या देखिएको छ, यसको कारक संस्थादेखि ग्राहक र नियमनकारी निकाय लगायत सबै हुन्, सबै जिम्मेवार भएका कारण मिलेर समस्या समाधान गर्नुपर्छ,’ उनी भन्छिन्, ‘ग्रामिण अर्थतन्त्र विकासमा लघुवित्तको विकल्प छैन, यसले महिलाको आर्थिक सशक्तीकरणमा समेत महत्त्वपूर्ण योगदान गरिरहेको छ ।’
सांसद चौधरीले लघुवित्तको ऋण मिनाहा गरिदिने भन्दै ठगीधन्दासमेत हुन थालेको बताउँछिन् । ‘आन्दोलनमार्फत ऋण मिनाह गराइदिने भन्दै लघुवित्त ऋणीबाट एक हजार देखि ५ हजारसम्म उठाएको समेत सुनिएको छ,’ उनी भन्छिन्,‘यसैले नियमनकारी निकाय, लघुवित्त संस्था र ऋणी मिलेर समस्या समाधान गर्नुपर्छ ।’
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् माइक्रोफाइनान्स सुपरिवेक्षण विभाग प्रमुख विमलराज खनाल लघुवित्तको मर्म विपरीतका कार्य हुँदा समस्या सिर्जना भएको बताउँछन् ।
‘लघुवित्तको मर्मअनुसार काम भएन, एउटै व्यक्तिलाई धेरै संस्थाले कर्जा प्रवाह गरे, संस्थाहरूले पनि छिटो नाफा आर्जन गर्न खोजे, संस्थाहरू धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा समेत भयो,’ उनी भन्छन्, ‘संस्था र ऋणी दुवैको नियतले समस्या ल्यायो, अहिले समाधान हुँदै गइरहेको छ ।’
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव नेपालको ग्रामीण जनता र खासगरी महिलालाई आर्थिक क्षेत्रमा जोड्ने काम लघुवित्त क्षेत्रले गरेको बताउँछन् ।
बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसी गरिबी अन्त्यका लागि लघुवित्त आवश्यक रहेको भन्दै यसको समस्या समाधानका लागि सञ्चालक तथा नियमनकारी निकायले समिक्षा र सुधार गर्नुपर्ने बताउँछन् ।
नेपालमा लघुवित्तको महत्व
बिना धितो कर्जा
लघुवित्तहरुले ठूलो रकमसम्म बिना धितो कर्जा प्रवाह गर्दछन् । बिना धितो दिइएको कर्जा शतप्रतिशत उक्सिन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर बिना धितो कर्जा भन्ने लघुवित्तको एउटा सिद्धान्त नै हो । केहि सिद्धान्त पालना गरेर काम गरियो भने डुब्ने खतरा हुँदैन । हैन भने डुब्ने खतरा हुन्छ ।
जस्तो स्थानीय स्तरमा बसेका महिलाहरु, जसले एक अर्कालाई चिन्छन, जसको एक अर्कोसँग मन मिलेको छ । उनीहरु एक ठाउँमा बस्छन् र एउटाले अर्काको सामूहिक जिम्मेवारी लिन्छ । अर्थात सामूहिक जमानी बसिदिन्छ । त्यहि आधारमा लघुवित्तले कर्जा दिन्छ । भोलि ऋणीले दायाँ बायाँ गरेको अवस्थामा कर्जा असुलीमा सो समूहले सहयोग गर्छ ।
सामाजिक क्षेत्रमा योगदान
लघुवित्तहरुले आर्थिक मात्र होईन, सामाजिक रुपमा पनि सेवा दिँदै आएका छन् । लघुवित्त नभइदिएको भए ग्रामिण क्षेत्रमा पूँजीको परिचालन हुँदैन थियो र पूँजीको परिचालन नहँुना साथ ग्रामिण क्षेत्रको आर्थिक स्तर उकासिँदैन थियो ।
नेपालमा छोटो समयमा नै गरिबीको दरमा आएको सुधारमा लघुवित्तकै योगदान रहेको छ । एउटा ग्रामिण भेगमा कर्जा लिन चाहानेले ठूला बैंक पुग्न सक्दैन् । यसरी ठूला बैंकको पहुँचभन्दा बाहिर रहेका जनतालाई कर्जा दिएर उद्यमी बनाउने काम लघुवित्त वित्तीय संस्थाहरुले गरिरहेको छ । लाखौँ नेपालीहरु लघुवित्त सेवाबाट लाभान्वित भइरहेका छन् । यसरी ग्रामीण एवम् विपन्न वर्गलाई उद्यमी बनाएर एवम् महिलाहरुलाई माथि उठाएर लघुवित्तले सहयोग पुर्याइरहेको छ ।
उद्यमशिलता विकास
बेरोजगारीको समस्यासँग जुधिरहेका युवाहरुलाई कर्जा प्रदान गरी उद्यमी बनाउनेतर्फ लघुवित्त वित्तीय संस्थाहरु अग्रसर छन् । केही गर्ने सोच भएका तर पैसाको अभावका कारण गर्न नसकेका सर्वसाधारणलाई लघुवित्तले वित्तीय सहयोग प्रदान गरेको छ । गरिबीबाट मुक्त हुन सकिएला र भन्ने चिन्तामा रहेका जनतालाई लघुवित्तले आफ्नै व्यवसायको मालिक र रोजगारदाता बनाएको छ ।
विदेश गएका युवाहरु समेत स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गर्ने वातावरण लघुवित्त संस्थाले बनाइदिएका छन् । तरकारीखेती, पशुपालन, घरेलु उद्योग लगायतका व्यवसायमार्फत जिवनस्तर उकास्ने मौका र हिम्मत लघुवित्त संस्थाहरुले प्रदान गरेका छन् ।