२०८१ भाद्र ६ गते

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको १० औं वार्षिकोत्सव समारोह सम्पन्न

बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को दशौं वार्षिकोत्सव समारोह २०८१ साउन २९ देखि ३१ गतेसम्म देशव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

संस्थाको प्रधान कार्यालय बुटवलमा भएको वार्षिकोत्सव समापन समारोह सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको प्रमुख आतिथ्यता र प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको सभापतित्वमा सम्पन्न भएको हो ।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथि भरतराज कोइरालाले मन्तव्यका क्रममा संस्थाले कर्मचारी र ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि र सामाजिक क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गरी आफ्नो व्यवसायिक गतिविधिलाई सुदृढ बनाउन लागेको विचार व्यक्त गरे ।

मर्जर पश्चात ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले हासिल गरेको प्रगति सन्तोष जनक रहेको बताउँदै आगामी दिनमा यस संस्थाले विभिन्न ग्रामीण भेगमा वित्तीय साक्षरता अभियान चलाएर वित्तीय पहुँच विस्तार गर्नु पर्नेमा जोड दिए ।

सञ्चालन तथा सुपरिवेक्षण कार्यालय बुटवल अन्तर्गतका पुरष्कृत उत्कृष्ट ग्राहक सदस्यहरु

प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका सभापति श्याम कुमार कटुवालले ग्रामीण क्षेत्रमा स्व–रोजगारको अवसर सिर्जना गरी महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्न यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था नाफा मुखीमात्र नभएर सेवामुखी भावनाले समेत विभिन्न कार्यहरू गरिरहेको बताए ।

सोही अवसरमा विभिन्न शाखा कार्यालयबाट उपस्थित कर्मचारी तथा ग्राहक सदस्यहरुलाई ‘आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम’ का बारेमा प्रकाश पार्दै प्रमुख कार्यकारी अधिकृत कटुवालले कर्जा प्राप्ति प्रकृया, कर्जा सदुपयोगिता, कर्जा भूक्तानी, कालोसूची, बीमा, तथा रेमेट्यान्स, बचत परिचालन, नगद प्रवाह, वित्तीय अनुशासन आदि विषयमा प्रशिक्षण दिनु हुँदै संस्थाले आफ्नो क्षमता बृद्धिगर्न आगामी दिनमा चाल्नु पर्ने विभिन्न कदमका बारेमा चर्चा गरे ।

वार्षिकोत्सव समारोहमा सहभागी कर्मचारी तथा ग्राहक सदस्यहरु

वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्यका क्रममा अनुपालन तथा जोखिम व्यवस्थापन महाशाखा प्रमुख का.मु. मुख्य व्यवस्थापक पिताम्बर नेपालले मूलुकमा रहेको गरिबीलाई न्यूनीकरण गर्न ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहेको एवम् लघुवित्तको क्षेत्रमा वर्तमान समयमा उच्च प्रतिस्पर्धा रहेको हुँदा यस संस्थाले आगामी दिनमा प्रतिस्पर्धी ढंगले आफ्नो व्यवशाय विस्तार/सुधार गर्नु पर्ने बताए ।

सोही अवसरमा उत्कृष्ट ग्राहकबाट पुरष्कृत शाखा कार्यालय परासीका ग्राहक सदस्य ज्ञानु गौतम, शाखा कार्यालय कावासोतीकी ग्राहक सदस्य दिलमाया विश्वकर्माले संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई सधैँ उच्च प्राथमिकता दिएर कार्य गरिरहेकोमा खुसी लागेको बताएका थिए ।
लामो समयदेखि यस संस्थाबाट कर्जा लिएर व्यवसाय बढाउने काम गरिरहेकोमा आज संस्थाले उत्कृष्ट ग्राहक घोषणा गरी पुरस्कृत गरेकोमा संस्था प्रति धन्यवाद ज्ञापन तथा हर्ष व्यक्त गरेका थिए ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष इश्वर प्रसाद लम्साल, ग्रामीण विकास लघुवित्त वित्तीय कर्मचारी संगठनका अध्यक्ष अमर पौडेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र लुइटेलले शुभकामना मन्तव्य दिँदै संस्थाले सधैँ कर्मचारी र ग्राहक सदस्यको हितमा काम गर्दै व्यवसाय विस्तारमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन योजना तथा वित्त व्यवस्थापन विभागका प्रमुख मोतिराज खनालले गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा संस्थामा २५ वर्ष स्थायी सेवा पूरा गरेका २८९ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदक सहित कदर–पत्रले सम्मान गरिएको थियो ।

यसैगरी आ.व २०८०/८१ मा उत्कृष्ट कार्यगरी वार्षिक लक्ष्य पुरा गर्न सफल भएकोमा शाखा कार्यालय विरपुर, कपिलवस्तुलाई प्रथम पुरस्कार, शाखा कार्यालय वेलौरी, कन्चनपुर र शाखा कार्यालय पिपरा, महोत्तरीलाई दोस्रो पुरष्कार तथा शाखा कार्यालय नेपालगंज, बाँके र शाखा कार्यालय बुधबारे, झापालाई तेस्रो पुरष्कार प्रदान गरिएको थियो । पुरष्कृत भएका शाखा कार्यालयहरु मध्ये प्रथमलाई दशहजार, दोस्रोलाई रु.सातहजार र तेस्रोलाई पाँच हजार तथा प्रमाणपत्र प्रधान कार्यालय र सम्बन्धित सञ्चालन तथा सुपरिवेक्षण कार्यालयहरुमा आयोजित वार्षिकोत्सव कार्यक्रममा वितरण गरिएको थियो ।

वार्षिकोत्सव समारोहमा यस संस्थाको कार्यक्रम विस्तार भएका ५६ वटा जिल्लाका १८९ वटा शाखा कार्यालयबाट समेटिने गरी क्रमशः सञ्चालन तथा सुपरिवेक्षण कार्यालय विराटनगर अन्तर्गतका ४८ जना, जनकपुर अन्तर्गतका ४२ जना, बुटवल अन्तर्गतका ५० जना, नेपालगंज अन्तर्गतका ५० जना र धनगढी अन्तर्गतका ३९ जना अनुशासित र लगनशील भइ लामो समयसम्म वित्तीय कारोवार एवम् व्यवसाय गरेका कुल २२९ जना उत्कृष्ट ग्राहक सदस्यहरुलाई जनही नगद पुरष्कार र प्रमाणपत्र द्वारा सम्मान गरिनुका साथै ‘आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम’समेत सञ्चालन गरी प्रशिक्षण गरिएको थियो ।

संस्थाले तीन दिवशीय कार्यक्रमको आयोजना गरी देशव्यापी रुपमा एकै पटक वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको थियो । जसअनुसार सञ्चालन तथा सुपरिवेक्षण कार्यालय धनगढीका प्रमुख शैलेन्द्र राज जोशीको सभापतित्वमा सम्पन्न भएको वार्षिकोत्सव समारोहको प्रमुख आतिथ्यता सञ्चालक समितिका सदस्य मनोज कुमार खडका र विशिष्ट अतिथिको आतिथ्यता जनशक्ति व्यवस्थापन तथा तालिम विभागका प्रमुख खगेन्द्र प्रसाद अर्यालले गरेका थिए ।

सञ्चालन तथा सुपरिवेक्षण कार्यालय धनगढी अन्तर्गतका पुरष्कृत उत्कृष्ट ग्राहक सदस्यहरु

सञ्चालन तथा सुपरिवेक्षण कार्यालय जनकपुरका प्रमुख रमेश कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको वार्षिकोत्सव समारोहको प्रमुख आतिथ्यता संस्थाका नायव कार्यकारी प्रमुख दिपक प्रसाद पाण्डेले गरेका थिए ।

सञ्चालन तथा सुपरिवेक्षण कार्यालय जनकपुर अन्तर्गतका पुरष्कृत उत्कृष्ट ग्राहक सदस्यहरु

यसैगरी सञ्चालन तथा सुपरीवेक्षण कार्यालय नेपालगंज अन्तर्गत सुर्खेत कार्यालयका उपनिर्देशक महेन्द्र कुमार जायसवालको सभापतित्वमा सम्पन्न भएको वार्षिकोत्सव समारोहको प्रमुख आतिथ्यता आन्तरिक लेखापरीक्षण विभागका प्रमुख लक्ष्मण अर्यालले गरेका थिए ।

सञ्चालन तथा सुपरीवेक्षण कार्यालय नेपालगञ्जमा सञ्चालित ‘आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम’

सञ्चालन तथा सुपरिवेक्षण कार्यालय विराटनगरका प्रमुख कुमार बहादुर सिंहको सभापतित्वमा सम्पन्न भएको वार्षिकोत्सव समारोहको प्रमुख आतिथ्यता कर्जा लगानी तथा असुली विभागका प्रमुख मोतिराम अधिकारीले गरेका थिए ।

सञ्चालन तथा सुपरिवेक्षण कार्यालय विराटनगर अन्तर्गतका पुरष्कृत उत्कृष्ट ग्राहक सदस्यहरु

संस्थाले वार्षिकोत्सवको अवसरमा पाँचवटै सञ्चालन तथा सुपरिवेक्षण कार्यालयमा आवद्ध ३६४ जना कर्मचारीहरुलाई ‘कार्य क्षमता अभिवृद्धि’ सम्बन्धमा व्यवसाय अभिवृद्धिको रणनीति, बचत संकलन र परिचालन, नगद प्रवाहको वर्तमान स्थिति, नगद प्रवाह बढाउन अपनाउनुपर्ने उपाय, निष्कृय ऋणी÷ केन्द्र सञ्चालन गर्न अपनाउनु पर्ने रणनीति र धितो मूल्यांकन प्रकृयाका बारेमा प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी प्रमुख र विभागीय प्रमुखहरुबाट तालिम प्रदान गरिएको थियो ।

व्यवसाय अभिवृद्धि र धितो मूल्यांकन प्रकृया विषयक तालिममा सहभागी कर्मचारीहरु

वार्षिकोत्सव मनाउने शिलशीलामा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा प्रधान कार्यालय बुटवलमा २०८१ साउन २९ गते रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त रक्तदान कार्यक्रममा संस्थामा कार्यरत कर्मचारी लगायत समाजका विभिन्न क्षेत्रमा आवद्ध ४१ जना व्यक्तिहरूले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र बुटवलबाट प्राप्त सम्मान ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत

यसैगरी मानविय सेवालाई सदैव प्राथमिकतामा राखेको यस संस्थाले मानव सेवा आश्रम बुटवल–८, सुख्खानगर, रुपन्देहीमा सोही दिन सामुहिक भोजन सेवा कार्यक्रमको आयोजना गरिएको थियो ।

सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा मानव सेवा आश्रम, बुटवललाई नगद हस्तान्तरण

लघुवित्तको कारोवार गर्न राष्ट्रियस्तरको संस्थाको रुपमा इजाजतपत्रप्राप्त ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आर्थिक वर्ष २०८१/८२ को साउन मसान्तसम्म ५६ जिल्लामा १ सय ८९ शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाको प्रधान कार्यालय बुटवल उप-महानगरपालिका वडा नं.१०, रुपन्देहीमा रहेको छ भने विराटनगर, जनकपुर, बुटवल, नेपालगंज र धनगढीमा सञ्चालन तथा सुपरीवेक्षण कार्यालय रहेका छन् ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गका समुदाय विशेष गरी महिलाहरुको आर्थिक तथा समाजिक अवस्था सुदृढ गर्न विभिन्न प्रकारका लघुवित्त सेवाहरु प्रदान गर्दै आइरहेको छ ।