बैंकिङ खबर/ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातै प्रदेशका शाखा प्रमुख तथा कार्यक्रम अधिकृतहरुलाई धितो मूल्यांकन तथा परियोजना विश्लेषण तालिम सम्पन्न गरेको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपाको आयोजनामा सातै वटा प्रदेशमा कार्यरत १३५ जना शाखा प्रमुख तथा १८ जना कार्यक्रम अधिकृतहरुको लागि धितो मूल्यांकन तथा परियोजना विश्लेषण सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
कोशी र मधेश प्रदेशमा कार्यरत ३७ जना शाखा प्रमुख तथा ४ जना कार्यक्रम अधिकृत गरी ४१ जनाका लागि साउन २२ र २३ गते कोशी प्रदेशको इटहरीमा, वाग्मती र गण्डकी प्रदेशमा कार्यरत ३२ जना शाखा प्रमुख तथा ४ जना कार्यक्रम अधिकृत गरी ३६ जनाको लागि साउन २६ र २७ गते वागमती प्रदेशको सौराहा, चितवनमा,लुम्बिनी प्रदेश पूर्वमा कार्यरत ३१ जना शाखा प्रमुख तथा ४ जना कार्यक्रम अधिकृत गरी ३५ जनाको लागि साउन २८ र २९ गते लुम्बिनी प्रदेश प्रदेशको बुटवलमा र लुम्बिनी प्रदेश पश्चिम र कर्णाली प्रदेशमा कार्यरत ३५ जना शाखा प्रमुख तथा ६ जना कार्यक्रम अधिकृत गरी ४१ जनाको लागि साउन ३० र ३१ गते लुम्बिनी प्रदेशको नेपालगञ्जमा तालिम सम्पन्न गरेको छ ।
तालिममा विशेष गरी शाखाहरुले लघु उद्यम कर्जा वृद्धि गराउन धितो मूल्यांकनलाई कसरी प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ, घरजग्गा धितो लिँदा के–के विषयमा ध्यान दिने, तराई र पहाडमा रहेका बाटो भएको घडेरीयोग्य जग्गाहरु तथा खेतीयोग्य जग्गाहरु कति क्षेत्रफलसम्मको धितो लिने, खोलानाला, हाइटेन्सन लाइननजिक, अन्तर्राष्ट्रिय बोर्डर नजिक, भिरपाखोका जग्गाहरु लिँदा कति दुरी टाढा र कस्ता किसिमको जग्गा धितो लिने, जग्गाको नापजाँच कसरी गर्ने, नक्सा तथा लालपुर्जाको निरीक्षण गर्ने विधि बारेमा क्रमशः इटहरीमा इन्जिनियर आमोदराम आचार्य,सौराहका इन्जिनियर गोविन्द बानिया, बुटवलमा इन्जिनियर अमित खनाल र नेपालगञ्जमा इन्जिनियर विवेक लामिछानेले प्रशिक्षण दिएका थिए ।
परियोजना विश्लेषण, बजारीकरण कसरी गर्ने, असल ग्राहकको पहिचान कसरी गर्ने, कस्तो व्यावसायलाई कर्जा लगानी गर्ने, , व्यावसायिक योजना कसरी तयार गर्ने, डिएससिआर निकाल्ने तरिका र आम्दानी अनुसार किस्ता बनाइदिने तरिका, वास्तविक र यथार्थपरक आउने गरी नगद प्रवाह कसरी भर्ने, कर्जा परियोजना तथा धितोको सुक्ष्म विश्लेषण कसरी गर्ने, कागतजातहरु के–के लिने, जिपीएस कोड नं. किन र कसरी लिने, सदुपयोगिता रेकर्ड निरीक्षणको महत्व, निरीक्षण विधि आदी विषयहरुमा कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीले प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा लेखा विभाग प्रमुख मनरुपा पौडेलले सहभागीहरुलाई लेखा सम्बन्धी विषयहरुमा र सामान्य सेवा विभाग प्रमुख ख्यामकान्त अर्यालले कार्यालय संचालन सम्बन्धि विषयमा प्रशिक्षण दिएका थिए ।
सबै प्रदेशहरुको तालिममा सहभागी भएका संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले तालिम समापन कार्यक्रममा सहभागीहलाई सम्बोधन गर्दे संस्थामा कार्यरत कर्मचारीहरु सक्षम भएमा मात्र संस्था बलियो हुने भएकोले यस वर्ष सबै कर्मचारीहरुको वृत्तिविकासका लागि आन्तरीक तथा वाह्य तालिम आयोजना गरिने बताए ।
विगतमा कर्जा विश्लेषण गलत भएकोले लगानी भएका कर्जा असुलीमा समस्या आएको बताउँदै अब लगानी हुने कर्जाहरु शतप्रतिशत असुली ग्यारेन्टी हुनुपर्ने बताए । तालिमले सबैको क्षमता अभिवृद्धि गरी लघुउधम कर्जाको गुणस्तरीय लगानी हुने अपेक्षा राखेको बताउँदै शाखामा कार्यरत सहकर्मीहरुलाई तालिममा सिकेका कुराहरु सिकाएर सवैजना सक्षम हुन निर्देशन दिए ।
यस आर्थिक वर्षमा कुल लगानी गर्ने कर्जा मध्ये ७५ प्रतिशत् धितो कर्जा लगानी गरी कुल लगानीमा रहेको कर्जाको ३३ प्रतिशत हिस्सा धितोमा आधारित कर्जा हुनुपर्ने बताए । लुम्बिनी प्रदेशको बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष विनोद ज्ञवालीले तालिममा सिकेका विषयहरु व्यवहारमा उतारी संस्थामा अब लगानी हुने कर्जाहरु एउटा पनि भाखा नाघ्न नदिने गरी असल ग्राहक पहिचान गरेर लगानी गर्न र संस्थालाई अन्य संस्थाभन्दा अव्वल सावित गर्न निर्देशन दिए ।
इटहरीको होटल त्रियुगामा २०८१ साउन २२ गतेबाट शुरुवात भएको तालिम २०८१ श्रावण ३१ गते नेपालगञ्जको होटल कल्पत्रुमा आएर तालिम सम्पन्न भएको थियो ।
चारै प्रदेशको तालिमको उद्घाटन शत्रमा स्वागत मन्तव्य क्रमशः कोशीका नि.प्रदेश प्रमुख विजय कुमार पासवान, बागमतीका प्रदेश प्रमुख श्यामकृष्ण महर्जन, लुम्विनी प्रदेश प्रमुख अमरनाथ सेडाइ र कर्णाली प्रदेश प्रमुख सन्तोष चन्दले स्वागत मन्तव्य तथा वित्तविभाग प्रमुख मनरुपा पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सबै प्रदेशमा सहभागीहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीको वाहुलीबाट प्रमाणपत्र हस्तान्तरण गरीएको थियो ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रदेश, ५३ जिल्लाहरुमा १३५ शाखा कार्यालयहरु, ६ प्रदेश कार्यालय र केन्द्रीय कार्यालय गरी १४२ कार्यालय सञ्जाल मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितोमा तथा धितो कर्जा लगानी गर्नुका साथै व्यावसायिक सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइ रहेको छ । २०८१ असार मसान्तसम्म ९९ हजार सदस्य, ३५ हजार ऋणीमार्फत १ अर्व ५८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड कर्जा लगानी गरेको छ ।