August 11th, 2024

बीमा व्यवसाय आठ प्रतिशतले वृद्धि


बैंकिङ खबर/ बीमा कम्पनीहरूले गत आवमा करिब २ खर्ब रुपैयाँ व्यवसाय गरेका छन् । गत आवमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले १ खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांक छ ।

अघिल्लो आवको तुलनामा गत आवमा बीमा कम्पनीहरूको व्यवसाय ८.३४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा बीमा कम्पनीहरुले १ खर्ब ८२ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

गत आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरे, जुन अघिल्लो आवको तुलनामा ९.८२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरूले १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

यसैगरी अघिल्लो वर्षको तुलनामा गत वर्षमा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३.१२ प्रतिशतले बढेर ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ थियो ।

गत वर्ष जीवन बीमकहरुले १ करोड ३८ लाख ८१ हजार ४९२ वटा बीमा लेख जारी गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १.८१ प्रतिशतले कम हो । अघिल्लो वर्षमा जीवन बीमकहरुले १ करोड ४१ लाख ३७ हजार ३२१ वटा बीमा लेख जारी गरेका थिए ।

निर्जीवन बीमकहरुले जारी गरेको बीमालेख भने अघिल्लो वर्षको तुलनामा गत वर्षमा ३.९१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष निर्जीवन बीमा कम्पनीहरुले २७ लाख ९२ हजार ५१६ वटा बीमालेख जारी गरेकोमा समीक्षा वर्षमा बढेर २९ लाख १ हजार ६४० पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार गत वर्ष नेपालको कुल जनसंख्याको ४३.२७ प्रतिशत मानिस बीमाको दायरामा रहेका छन् । अघिल्लो वर्ष कुल जनसंख्याको ४४.३८ प्रतिशत मानिस बीमाको दायरामा थिए । बीमा कम्पनीहरुको व्यापार बढे पनि अझै ५६ प्रतिशतभन्दा बढी जनसंख्या बीमाको पहुँचबाट टाढा रहेको तथ्यांकले देखाएको छ ।

जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क पनि गत आवमा बढेको छ । गत आवमा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २१ अर्ब ९८ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवमा कम्पनीहरुले कुल १ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनामा गत आव जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ९.७८ प्रतिशतले बढेको हो ।

गत आवमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले नवीकरण बीमाशुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा नवीकरण बीमाशुल्क ७.२४ प्रतिशतले वृद्धि गरी ३२ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेको छ । दोस्रोमा रहेको एलआइसी नेपालले अघिल्लो आवको सोही अवधिको तुलनामा नवीकरण बीमाशुल्क २.८४ प्रतिशतले वृद्धि गरी १५ अर्ब ५० करोड रुपैयाँ संकलन गरेको छ ।

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा नवीकरण बीमाशुल्क १२.६४ प्रतिशतले वृद्धि गरी १४ अर्ब १४ करोड रुपैयाँ संकलन गरेको छ । हिमालयन लाइफले ११.३१ प्रतिशतले वृद्धि गरी १४ अर्ब ३ करोड रुपैयाँ संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले नवीकरण बीमाशुल्क ८.१६ प्रतिशतले वृद्धि गरी ७ अर्ब ९५ करोड रुपैयाँ संकलन गरेको छ । सूर्यज्योति लाइफले १४.३५ प्रतिशतले वृद्धि गरी ६ अर्ब ९६ करोड रुपैयाँ संकलन गरेको छ ।

एशियन लाइफले ११.९० प्रतिशतले वृद्धि गरी ६ अर्ब १२ करोड रुपैयाँ संकलन गरेको छ । मेट लाइफले अघिल्लो आवको सोही अवधिको तुलनामा नवीकरण बीमाशुल्क ९.०६ प्रतिशतले वृद्धि गरी ४ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १३.३३ प्रतिशतले वृद्धि गरी ४ अर्ब ३१ करोड रुपैयाँ संकलन गरेको छ । सिटिजन लाइफले ७.६३ प्रतिशतले वृद्धि गरी ४ अर्ब २५ करोड रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै, नवीकरण बीमाशुल्क संकलन वृद्धिदरको आधारमा हेर्दा प्रभु महालक्ष्मी लाइफ सबैभन्दा अगाडि छ । कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा नवीकरण बीमाशुल्क ३०.९६ प्रतिशतले वृद्धि गरी ३ अर्ब २८ करोड रुपैयाँ संकलन गरेको छ । आइएमई लाइफले १४.०९ प्रतिशतले वृद्धि गरी ३ अर्ब १३ करोड रुपैयाँ संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १९.३९ प्रतिशतले वृद्धि गरी २ अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको छ । सन नेपाल लाइफले अघिल्लो आवको सोही अवधिको तुलनामा नवीकरण बीमाशुल्क १४.८७ प्रतिशतले वृद्धि गरी २ अर्ब ३२ करोड रुपैयाँ संकलन गरेको छ ।