August 6th, 2024

जीवन बीमाको व्यवसाय डेढ अर्ब बढी, कुनको कति ?

बैंकिङ खबर/जीवन बिमा कम्पनीहरुको व्यवसायमा व्यापक सुधार देखिएको छ। १४ वटा जीवन बिमा कम्पनी असार मसान्तसम्म मात्रै डेढ खर्बमाथिको बिमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष १४ अर्ब बढी बिमाशुल्क आर्जन भएको हो। अघिल्लो वर्ष जीवन बिमा कम्पनीले १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा यो वर्ष बढेर १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ पुगेको हो।

बिमा त्याग्नेको संख्या उच्चदरले बढिरहँदा पनि बिमा कम्पनीको व्यवसायमा भने उल्लेख्य वृद्धि देखिएको छ। असार मसान्तसम्म १४ वटा बिमा कम्पनीले बीमा नवीकरण गरेर १ खर्ब २१ अर्ब रुपैयाँ आर्जन गरेका छन् भने प्रथम बीमा शुल्कबाट ३४ अर्ब ३४ करोड रुपैयाँ संकलन गरेका छन्।

अघिल्लो वर्ष सोही अवधिमा बिमा कम्पनीहरुले नवीकरणबाट १ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ संकलन गर्दा प्रथम बीमा शुल्कबाट ३१ अर्ब १२ करोड रुपैयाँ संकलन गरेका थिए। असार मसान्तसम्म बैंकहरुले नयाँ बीमालेख बेचेर गर्ने आम्दानीसहित नवीकरणबापतको आम्दानीलाई पनि बढाएको हो। नेपाल बिमा प्राधिकरणका अनुसार असार मसान्तसम्म १४ जीवन बिमा कम्पनीको १ करोड ४१ लाखवटा बिमालेख सक्रिय अवस्थामा छन्।

यो अवधिमा सबैभन्दा धेरै शुल्क संकलन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ भने सबैभन्दा कम शुल्क संकलन सन नेपाल लाइफले गरेको छ। नेपाल लाइफ इन्स्योरेन्सले ४० अर्बको शुल्क संकलन गर्दा सन नेपालले ३ अर्ब रुपैयाँ संकलन गरेको छ।

नेपाल लाइफपछिको ठूलो बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले १९ अर्बको शुल्क संकलन गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेसनले १८ अर्बको शुल्क संकलन गरेको छ। योबाहेक हिमालय लाइफ इन्स्योरेन्सले १६ अर्बको कारोबार गर्दा सूर्यज्योति लाइफले ९ अर्ब, राष्ट्रिय जीवन बिमा कम्पनीले ८ अर्ब, सानिमा रिलायन्स र सिटिजन्स लाइफले ६ अर्ब, मेट लाइफ इन्स्योरेन्सले ५ अर्ब शुल्क संकलन गरेको छ। यस्तै आईएमई लाइफ, रिलायबल नेपाल, प्रभु महालक्ष्मीले ४ अर्बमाथिको बिमाशुल्क संकलन गर्दा सन नेपाल लाइफले ३ अर्बको शुल्क संकलन गरको छ।