July 21st, 2024

कोरोना बीमा : १ लाख बढी बीमितको ९ अर्ब ७२ करोड भुक्तानी बाँकी

बैंकिङ खबर/ अर्थमन्त्री बिष्णु पौडेलले कोरोना बीमाको बाँकी दावी भुक्तानीमा आफू सकारात्मक रहेको बताएका छन्। पत्रकारसँगको भेटघाटका क्रममा मन्त्री पौडेलले कोरोना बीमितले आफ्नो दावी वापतको रकमको विषयमा आफू सकारात्मक रहेको स्पष्ट पारे ।

कोरोना बीमाका कारण आम सर्वसाधरणमा बीमाप्रतिको धारणा नै नकारात्मक हुनेगरी आलोचना भएको भन्दै उपयुक्त निष्कर्षमा पुग्ने मन्त्री पौडेलले बताए । उनले कोरोना बीमाको बाँकी दायित्व कसले कसरी ब्यहोर्ने भन्ने बारे नेपाल बीमा प्राधिकरणसँग घनिभुत छलफल भैरहेको जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका अनुसार कोरोना बीमातर्फ हालसम्म ६४ हजार ८६८ जना बीमितको ६ अर्ब १० करोड १५ लाख रुपैयाँ भुक्तानी भएको छ । बाँकी १ लाख १९१ जना बीमितहरु करिब ९ अर्ब ७२ करोड रुपैयाँ भुक्तानीको पर्खांइमा छन् ।

कोरोना बीमालेख अन्तर्गत १७ लाख ५८ हजार ३४३ जनाले बीमा गराएका थिए । १ लाख ६५ हजार ५९ जनाले बीमितले दावी भुक्तानीको माग गरेका थिए । उक्त भुक्तानी माग अनुसार नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल पुनर्बीमा कम्पनी र अन्य निर्जीवन कम्पनीहरुले जम्मा १५ अर्ब ८२ करोड २१ लाख रुपैयाँ दिनुपर्ने थियो ।

उक्त रकममध्ये ३ अर्ब ५० करोड रुपैयाँ प्राधिकरण, पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुको दायित्वमा थियो । बाँकी १२ अर्ब ३२ करोड बराबर रकम नेपाल सरकार अर्थात् अर्थ मन्त्रालयले दिनुपर्ने रकम हो । तर सरकारले हालसम्ममा १ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेको छ ।