बैंकिङ खबर/ पछिल्लो समय लघुवित्त क्षेत्रमा एकपछि अर्को गर्दै रोजगारी खुलेका छन् । गरिबी निवारणको महत्वपूर्ण अंगका रूपमा लिइने लघुवित्त संस्थाहरु नेपालमा हाल ५३ वटा सञ्चालनमा छन्। यी लघुवित्तहरुले धेरै जनालाई रोजगारी दिएको छ । हालै विभिन्न लघुवित्तहरुले रोजगारी खुलाएका छन् ।
हेर्नुहोस् कुन–कुन लघुवित्तमा खुलेका छन् रोजगारी
मातृभूमि लघुवित्तमा सिइओ माग
साविक किसान र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्ने भएको छ । यसका लागि कम्पनीले योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
यसका लागि मान्यता प्राप्त शिक्षणा संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जन प्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सोभन्दा माथिको तहमा कम्तीमा १० वर्षको कार्यानुभव भएको र ४० वर्ष पूरा भई ६० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् ।
योग्य तथा इच्छुक व्यक्तिले हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्यानुभवको प्रमाणपत्र सहित साउन ९ गते कार्यालय समयभित्र संस्थाको इमेलमार्फत् दरखास्त आवेदन दिनुपर्नेछ ।
मेरो माइक्रोफाइनान्स
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही काम गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
कम्पनीले शाखा प्रबन्धक (वरिष्ठ सहायक देखि कनिष्ठ अधिकृत सम्म), कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदको सहायक÷अधिकृत श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र सम्बन्धित क्षेत्रमा ४ वर्षको अनुभव भएकाले अधिकृतमा र प्रविणता वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्षको अनुभव भएकाले सहायक श्रेणीमा आवेदन दिन पाउनेछन् ।
त्यसैगरी प्रविणता वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव भएकाले कनिष्ठ सहायकमा र ६ महिनाको अनुभव भएकाले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि योग्य हुनेछन् ।
उमेर हदमा अधिकृतका लागि २१ वर्ष पूरा भई ४० ननाघेको र सहायकका लागि १८ वर्ष पूरा भई ३५ ननाघेको हुनु पर्नेछ भने सवारीसाधन अनुमतिपत्र भएका र कम्प्यूटर सम्बन्धी दक्ष व्यक्तिले प्राथमिकता पाउनेछन् । योग्य तथा इच्छुकले आवश्यक पर्ने कागजात सहित साउन १५ गतेभित्र अनलाइन माध्यमबाट आवेदन दिनुपर्नेछ ।
एनएमबि लघुवित्त
एनएमबि लघुवित्त वित्तीय संस्थाले ५० जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सहायक प्रशिक्षार्थीका लागि कोशी प्रदेशबाट १५ जना, मधेश प्रदेशबाट ७ जना, बागमती प्रदेशबाट ६ जना, गण्डकी प्रदेशबाट ९ जना, लुम्बिनी प्रदेशबाट ६ जना, कर्णाली प्रदेशबाट ३ जना र सुदुरपश्चिम प्रदेशबाट ४ जना कर्मचारी माग गरेको हो।
जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र उत्तिर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको बेवसाइट https://nmbmicrofinance.com/career/ मार्फत आवेदन दिन सक्नेछन् ।
आरम्भ चौतारी लघुवित्त
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पद तथा श्रेणीहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धकमा एकएक जना, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सपुभाईजर, वरिष्ठ सहायक, सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
यसका लागि तोकिएको शैक्षिक योग्यता भएका र इमेल, इन्टरनेट तथा कम्प्यूटर सम्बन्धी ज्ञान भएका इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजातसहित १५ दिनभित्र दरखास्त आवेदन दिनु पर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय वा इमेल ठेगानामार्फत दिन सकिनेछ ।