July 12th, 2024

‘मातृभूमि लघुवित्त’को एकीकृत वित्तीय कारोबार शुभारम्भ

बैंकिङ खबर/किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिइ बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको एकीकृत वित्तीय कारोवारको शुभारम्भ गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आथित्यतामा बुढानिलकण्ठ, काठमाडौंमा एकीकृत वित्तीय कारोवारको शुभारम्भ गरिएको हो ।

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष लोकराज शर्माज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मिश्रले नेपाल राष्ट्र बैंकको निर्देशन तथा उद्देश्य अनुरुप दुई संस्था मर्जर भई लघुवित्त संस्थाहरुमध्ये उत्कृष्ट, सवल तथा अग्रणी संस्था हुनको लागि शुभकामना व्यक्त गर्दै संस्थाले ग्रामीण तथा दुरदराजमा रहेको विपन्न वर्गका नागरिकहरुलाई वित्तीय सेवासँगै सामाजिक विकासमा समेत टेवा पुर्‍याउने धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष एवं अग्रज अभियान्ता डा. बद्री के.सी., लम्कीचुहा नगरपालिकाका प्रमुख सुशिला शाही, साविक जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको अध्यक्ष मनिष अर्याल र संयुक्त र्मजर समितिका संयोजक श्री शम्भु प्रसाद घिमिरेले नयाँ बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रभावकारी लघुवित्त सेवा प्रदान गरी देशकै नमूना लघुवित्त वित्तीय संस्था बन्नको लागि शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा साविकका किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका पूर्व अध्यक्ष तथा संचालक समितिका सदस्यहरुलाई प्रमुख अतिथि तथा सञ्चालक समितिका अध्यक्षबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

सञ्चालक समितिका सदस्य विमला योगीले स्वागत मन्तब्यबाट शुभारम्भ भएको कार्यक्रम अशोक आचार्यले सञ्चालन गरेका थिए । लम्कीचुहा कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्था र बुटवल रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति मिति २०८१ जेठ २९ गते दिएको थियो ।

मर्जरपछि बनेको मातृभूमिको लघुवित्त बित्तीय संस्थाको कुल ६० जिल्लामा २३६ वटा शाखा, २ लाख १६ हजार जना ग्राहक सदस्य, ८२ हजार जना ऋणी सदस्य, ११ अर्ब ८२ करोड लगानीमा रहेको कर्जा, ४ अर्ब २ करोड बचत संकलन र संस्थाको चुक्ता पूँजी रू. ७४ करोड ३३ लाख रहनेछ । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पोरेट कार्यालय बुढानिलकण्ठ–८, काठमाडौंमा रहने छ ।