November 23rd, 2016

मंसिर तेस्रो हप्ता चार वित्तीय संस्थाको दुई करोड ६१ लाख कित्ता हकप्रद आउँदै

यसै महिनाको तेस्रो हप्तामा चार वटा बैंक तथा वित्तीय संस्थाको दुई करोड ६१ लाख २३ हजार नौ सय ६२ कित्ता हकप्रद सेयर निष्काशन हुँदैछ । माछापूछ्रे बैंक, नागबेली लघुवित्त, वेष्टर्न डेभलपमेन्ट बैंक र सेवा विकास बैंकले एक सय रुपैयाँ अंकित दरमा उक्त हकपद्र सेयर जारी गर्न लागेका हुन् । समग्रमा हेर्नुस्, कुन कम्पनीको कति हकप्रद कहिलेदेखि निष्काशित हुँदैछ ?

माछापूछ्रेको हकप्रद १९ गते
maxaमाछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीका लागि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले आगामी मंसिर १९ गतेदेखि पुस २४ गतेसम्म उक्त अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बैंकले आफ्नो चुक्ता पुँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो । माछापुच्छ्रे  बैंकको हाल ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजीमा हकप्रद निष्काशन पछि पुँजी ५ अर्ब ७९ करोड ६८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

नागबेलीको हकप्रद २० गते
nagbeliनागवेली लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर वितरण गर्ने भएको छ । बैंकले आगामी मंसिर २० गतेबाट हकप्रद शेयर निष्काशन गर्ने जानकारी गराएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ । हकप्रद निष्काशन पुस २४ गतेसम्म खुला रहने बताइएको छ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले चुक्ता पूँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो । उक्त हकप्रदको अन्तिम म्याद पुस २४ गतेसम्म मात्र रहेको छ । नागवेली लघुवित्तको हाल २ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीमा हकप्रद निष्काशन पछि पूँजी ३ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

वेष्टर्न डेभलपमेन्टको २२ गते
westernवेष्टर्न डेभलपमेन्ट बैङ्क लिमिटेडको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयरको निष्काशन मङ्सिर २२ गतेदेखि खुला हुने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बैंकको हकप्रद निष्काशन तथा विक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पुस २६ गते सम्म निष्काशन खुला रहने हकप्रद सेयरका लागि गत कात्तिक ३० गते सम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछ ।  

हकप्रद शेयर निष्कासनपछि बैंकको चुक्तापुँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

सेवाको हकप्रद २३ गते
sewaसेवा विकास बैंक लिमिटेडले १२० प्रतिशत अर्थात १ बराबर १.२ को अनुपातमा हकप्रद प्रतिशतको हकप्रद शेयर वितरण गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ५१ लाख ६ हजार ६ सय ६२ कित्ता कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले आगामी मंसिर २३ गतेदेखि निष्काशन हुने हकप्रद २७ गतेसम्म खुला रहनेछ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

हाल सेवा विकास बैंकको चुक्तापुँजी ४२ करोड ५५ लाख ५५ हजार २ सय रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन पछि बैंकको चुक्तापुँजी ९३ करोड ६२ लाख २१ हजार ४ सय रुपैयाँ पुग्नेछ ।