July 4th, 2024

जेठमा सवा एक अर्ब मूल्यको बीमालेख त्याग


बैंकिङ खबर/ चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै परिपक्व अवधि बाँकी रहेका १ अर्ब २१ करोड ६२ लाख ४० हजार रुपैयाँको बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार जेठ महिनामा ग्राहकहरूले कुल १० हजार ९३५ ओटा बीमा पोलिसी त्याग (समर्पण) गरेका हुन् ।

सञ्चालनमा रहेका चौध जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्समा सबैभन्दा धेरै बीमालेख सरेण्डर भएका छन् । कम्पनीको ३५ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा लेख अवधि नसकिँदै निरन्तता नदिने गरी रद्द गरेका हुन्। यस कम्पनीको २ हजार २०९ ओटा पोलिसी सरेण्डर भएको छ ।

यसैगरी दोस्रो ठूलो सरेण्डर लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडमा भएको छ । उक्त कम्पनीमा एक महिना अवधिमा ३५ करोड ४९ लाख रुपैयाँ बराबरको ३ हजार ४६३ ओटा पोलिसी सरेन्डर भएको छ । राष्ट्रिय बीमा कम्पनीको पनि ११ करोड ३० लाख रुपैयाँ बराबरका १ हजार ४०८ ओटा बीमा बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको जेठ महिनाको तथ्यांक अनुसार जेठ महिनामा दश करोड भन्दा बढी रुपैयाँको बीमा पोलिसी सरेन्डर हुने जीवन बीमा कम्पनीको संख्या तीन ओटा रहेको छ ।

यस महिनामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ६३ लाख रुपैयाँ मूल्यको ६३६ ओटा बीमा बीमालेख सरेन्डर भएको छ । धेरै पोलिसी सरेन्डर हुने कम्पनीको पाँचौं नम्बरमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको रहेको छ । सो कम्पनीको ६ करोड ९७ लाख रुपैयाँ बराबरको ५९८ ओटा बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङ्क छ । यस्तै जेठ महिनामा एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ७३ लाख रुपैयाँ बराबरको ७७६ ओटा र हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ६३ लाख रुपैयाँ बराबरको ५६८ ओटा बीमा पोलिसी सरेन्डर भएको छ ।

समीक्षा अवधिमा मेट लाइफ इन्स्योरेन्सको ४ करोड २४ लाख रुपैयाँ बराबरको ३९२ ओटा, प्रभु महालक्ष्मी लाइफको ३ करोड ४२ लाख रुपैयाँको १८१ ओटा, सानिमा रिलायन्स लाइफको १ करोड ६३ लाख रुपैयाँ बरारबको १२० ओटा, आइएमई लाइफ इन्स्योरेन्सको १ करोड ३२ लाख रुपैयाँ बराबरको १४७ ओटा, सिटिजन लाइफ इन्स्योरेन्सको १ करोड २३ लाख रुपैयाँको २४६ ओटा बीमालेख सरेन्डर भएका छन् ।

त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जेठ महिनामा ९१ लाख रुपैयाँ बराबरको १३४ ओटा बीमा पोलिसी सरेन्डर भएका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले सबैभन्दा कम बीमालेख त्याग गरेका छन् । जेठ महिनामा कम्पनीको ४४ लाख रुपैयाँ बराबरको ५७ ओटा बीमा पोलिसी सरेन्डर भएको हो । सरेन्डर रकम र संख्या दुबैमा कम्पनीमा सबैभन्दा कम त्याग भएको तथ्याङ्क छ ।