बैंकिङ खबर/ दुई लघुवित्तमा रोजगारी खुलेको छ । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले असार १९ गते कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रकाशिहत गर्दै केन्द्रीय कार्यालयका लागि व्यवस्थापकीय तहमा केहि कर्मचारी माग गरेको हो ।
कम्पनीले प्रबन्धक, नायव प्रबन्धक र सहायक प्रबन्धक पदमा कर्मचारी माग गरेको छ । कम्पनीले इच्छुक तथा योग्य व्यक्तिलाई आगामी साउन २ गतेभित्र कम्पनीको वेबसाइटमा गएर अनलाइनमार्फत आवेदन दिन भनेको छ ।
कम्पनीका अनुसार प्रबन्धकको लागि कुनै पनि विषयमा स्नातकोत्तर र एसीसीए तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा सरकारी वा अर्धसरकारी संस्थामा अधिकृत स्तरमा कम्तिमा तीन वर्षको कार्यानुभव वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा सरकारी वा अर्धसरकारी संस्थामा अधिकृत स्तरमा कम्तिमा ५ वर्ष काम गरेको वा कम्तिमा सीए उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव हुनु पर्नेछ।
यसैगरी, नायव प्रबन्धक र सहायक प्रबन्धकको लागि सीए उत्तीर्ण वा एसीसीए र कुनै पनि विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा सरकारी वा अर्धसरकारी संस्थामा अधिकृत स्तरमा कम्तीमा दुई वर्षको कार्यानुभव वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा वा सरकारी वा अर्धसरकारी संस्थामा अधिकृत स्तरमा कम्तीमा चार वर्ष काम गरेको हुनु पर्नेछ ।
साथै वित्त विभाग, अनुगमन तथा सुपरिवेक्षण विभाग र आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुख भइ कार्य गरेका वा सो सम्बन्धी अनुभव भएकालाई विशेष प्राथमिकता दिइने पनि सूचनामा उल्लेख छ ।
व्यवस्थापकीय श्रेणीको लागि २१ वर्ष पुरा भई ५५ वर्ष (दरखास्त दिने अन्तिम मिति ) ननाघेको हुनुपर्नेछ । महिलाको हकमा उमेरको हदमा पाँच वर्ष थप हुने पनि सूचनामा उल्लेख छ ।
कम्पनीका अनुसार व्यवस्थापकीय श्रेणीको लागि परीक्षा दस्तुर १ हजार रुपैयाँ लाग्ने छ। रितपुर्वक तोकिएको समयभित्र प्राप्त सबै आवेदन उपर छानबिन गरी छोटो सूचीमा परेका उमेदवारहरुलाई मात्र अन्तरवार्ताको लागि बोलाइने छ ।
यसैबीच गणपति लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले अनुगमन अधिकृत (अधिकृत), शाखा प्रबन्धक,बरिष्ठ सहायक,कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।कम्पनीले अनुगमन कार्यालय तथा विभिन्न शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिनुपर्नेछ । कम्पनीले रितपूर्वक प्राप्त आवेदनमध्ये छोटो सूचीमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाका लागि बोलाउने बताएको छ ।