बैंकिङ खबर/चार वटा अलग– अलग लघुवित्त कम्पनीले असार महिनाभित्र एकीकृत वित्तीय कारोबार गर्ने तयारी गरेका छन् । ती कम्पनीहरुले एकीकृत वित्तीय कारोबारका लागि द्रुत गतिमा कार्यहरु भइरहेको बताएका छन् ।
मर्जरमा गएका जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थाले आगामी असार २७ गतेदेखि मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू गर्दैछन् । ती कम्पनीको हाल दोस्रो बजारमा शेयर कारोबार रोक्का छ ।
यी दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । यसैगरी,समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त आगामी असार २४ गतेबाट एकीकृत कारोबार गर्ने तयारीमा छन् ।
कम्पनीले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गरेपछि समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत वित्तीय कारोबार हुन लागेको हो ।ती दुबै कम्पनीलाई नेपाल राष्ट्र बैंकले जेठ २९ गते र नेपाल धितोपत्र बोर्डले असार ९ गते प्राप्ति (एक्विजिशन) सम्बन्धी अन्तिम स्वीकृति दिएको थियो ।
समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने÷गाभिने सम्झौतामा गत भदौ ७ गते हस्ताक्षर भएको थियो । सम्झौताका बखत समता घरेलु लघुवित्तको चुक्तापूँजी ३९ करोड ४१ लाख छ भने मनकामना स्मार्ट लघुवित्तको चुक्तापूँजी १४ करोड ८४ लाख रुपैयाँ छ ।
कम्पनीले असार २४ गतेदेखि दुबै कम्पनीको एकीकृत कारोबार हुने भएकाले डाटा माइग्रेसन कार्यको लागि असार २३ गतेका दिन दुबै कम्पनीका आ–आफ्ना कार्यालयहरुबाट प्रदान गर्दै गरिने सम्पूर्ण बैकिङ्ग कारोबार भने बन्द रहने बताएको छ ।