June 24th, 2024

निर्जीवन बीमा व्यवसायमा झिनो सुधार

बैंकिङ खबर/निर्जीवन बीमा व्यवसायमा सामान्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत वर्षको जेठको तुलनामा चालु आवको सोही अवधिमा बीमा शुल्क संकलन १.०३ प्रतिशतले बढेको हो ।

प्राधिकरणका अनुसार चालु वर्षको ११ महिना (साउन–जेठसम्म) १४ निर्जीवन र ३ निर्जीवन लघु बीमा गरी १७ कम्पनीले कुल ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा साढे ३७ करोड रुपैयाँ धेरै हो । गत वर्ष जेठसम्म निर्जीवन बीमा कम्पनीले कुल ३६ अर्ब १९ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

जेठसम्म १४ निर्जीवन बीमा कम्पनीले कुल ३६ अर्ब ३२ अर्ब ९९ लाख रुपैयाँ र ३ निर्जीवन लघुबीमा कम्पनीले २३ करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ५० करोड ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यस महिना कम्पनीहरूले २ लाख ३४ हजार ३४४ वटा बीमालेख जारी गरेका छन् ।

सरकार र नेपाल राष्ट्र बैंकको प्रयास र नीतिगत लचकताका कारण पछिल्ला महिनाहरूमा अर्थतन्त्र चलायमान हुँदै गएको छ । जसको सकारात्मक प्रभाव बीमा व्यवसायमा पनि देखिएको हो ।