June 5th, 2024

मनहरीमा सबैको लघुवित्तले दियो दालमोठ, भुजिया, पापड बनाउने तालिम

बैंकिङ खबर/तनहुँ बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दालमोठ, भुजिया, पापड बनाउने तालिम दिएको छ ।

संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा मकवानपुर जिल्लाको मनहरी नगरपालिका–७, मनहरीमा “दालमोठ, भुजिया, पापड बनाउने तालिम” सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी दिए । यस तालिममा मुख्य प्रशिक्षकमा अनिता कुमारी दनुवार रहेकी थिइन् ।

दालमोठ, भुजिया, पापड बनाउने विधिका बारेमा, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व, फाइदाहरु र बचतका प्रकारहरु आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका थिए । संस्थाले विगत सात वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए ।

संस्थाको मनहरी शाखाको सितलडाँडा सबैको महिला समूहकी ग्राहक सदस्य तथा राक्सिराङ्ग गाउँपालिका वडा नं. ३ की महिला सदस्य निर्मला दोङको अध्यक्षतामा, संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा, मनहरी गाउँपालिका वडा नं. ७ का कार्यवाहक वडाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथी नवराज सुवेदीले पानसमा दीप प्रज्वलन गरी तालिमको उद्घाटन गरेका थिए ।

तालिममा उपस्थित सहभागीहरुलाई संस्थाको डुम्रे सुपरीवेक्षण मुकामका सुपरीवेक्षण अधिकृत कुशल पोख्रेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सुपरीवेक्षण अधिकृत पोख्रेलले तालिममा सक्रियतापूर्वक सहभागी भई तालिमलाई ब्यवहारमा उतार्न पहल गर्न अनुरोध गरेका थिए ।

तालिमको उद्देश्य, महत्व तथा संस्थाको प्रगति विवरण साथै संस्थाले उपलब्ध गराएको वित्तीय सेवाहरु तथा गैर वित्तीय सेवाहरुको बारेमा संस्थामा नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएको थिए ।

नायब महाप्रवन्धक श्रेष्ठले जुन परियोजनाको लागि कर्जा लिएको हो, सोही परियोजनामा लगानी गरेमा मात्र फाइदा लिन सकिने हुँदा कर्जा लिएर सदुपयोग गर्ने भएमा मात्र कर्जा लिन र जुनसुकै परियोजना सञ्चालन गरे पनि ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गरी अगाडि बढ्न सुझाएका थिए ।

संस्थाको मनहरी शाखाका प्रमुख सुरेश खड्काले शाखाको प्रतिवेदन प्रस्तुत गर्दै सहभागीहरुलाई तालिममा सक्रियतापूर्वक सहभागी भई राम्रोसँग सिक्न, तालिमलाई ब्यवहारमा उतारेर फाइदा लिन जानकारी गराएका थिए ।

कार्यक्रमका विशेष अतिथि मनहरी गाउँपालिका वडा नं. ७ का कार्यवाहक वडाध्यक्ष नवराज सुवेदीले सहभागी दिदीबहिनीहरुलाई कर्जा लिएर कर्जाको सदुपयोग गर्न सुझाएका थिए । कर्जाको दुरुपयोग गरेमा आफैँलाई क्षति पुग्ने पनि जानकारी गराएका थिए ।

अरुको उक्साहटमा लागेर कर्जा नतिरेमा भावी दिनहरुमा आफैँलाई हानी हुने समेत जानकारी गराएका थिए । तालिमका मुख्य प्रशिक्षक अनिता कुमारी दनुवारले दालमोठ, भुजिया, पापड ब्यवसाय घरमै बसी बसी सानो पूँजीबाट सुरु गर्न सकिने कुरामा जोड दिएकी थिइन् ।

सहभागीहरुमध्ये रुपा खत्री, बच्ची माया नेगी, यम कुमारी पुरीले तालिमको मूल्याकंनसहित मन्तब्य राखेका थिए । ब्यवसायिक रुपमा दालमोठ उत्पादन गरेमा दालमोठ, भुजियाबाट मनग्य फाइदा लिन सकिने रहेछ । ब्यवसायिक रुपमा दालमोठ उत्पादन गर्नमा यस तालिम फलदायि हुने सहभागीहरुले बताएका थिए ।

सहभागीहरुले तालिममा सिकेका ज्ञान, सीप ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । सहभागीहरुले तालिम पाएकोमा खुशी ब्यक्त गरेका थिए । तालिमको अन्त्यमा तालिममा सहभागीहरुलाई प्रमाणपत्रका साथै तालिम सञ्चालनका क्रममा बनाइएको दालमोठ, भुजिया पनि वितरण गरिएको थियो । तालिमको सञ्चालन संस्थाको मनहरी शाखा की शाखा प्रमुख सुरेश खड्काले गरेका थिए ।

यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९७ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइ रहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आइरहेको छ । यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेको छ ।

संस्थाले २०८१ बैशाख मसान्तसम्ममा ७५ हजार ३२० घरधुरीहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०८१ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अर्ब २१ करोड ४७ लाख रहेको छ भने ग्राहक सदस्यहरुको रु. १ अरब १७ करोड ७३ लाख बचत परिचालन गरेको छ ।

संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पुर्‍याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरी रहेको छ ।

संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दै जाने लक्ष्य रहेको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेललेले जानकारी गराएका थिए ।