June 2nd, 2024

दाङ उरहरीमा सबैको लघुवित्तद्वारा फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर बनाउने तालिम सञ्चालन

बैंकिङ खबर/ तनहुँ बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दाङ उरहरी शाखाका आफ्ना ३० जना ग्राहक सदस्यहरुलाई फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर बनाउने तालिम प्रदान गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–११, उरहरीमा “फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर बनाउने तालिम” सम्पन्न गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलका अनुसार तालिममा प्रशिक्षक बालकृष्ण सापकोटा, प्रकाश पौडेल, विक्रम उपाध्याय, रिमा कँडेलले शिक्षण दिएका थिए ।

संस्थाको उरहरी शाखाकी ग्राहक सदस्य ललिता पुन मगरको अध्यक्षतामा भएको तालिममा प्रमुख अतिथि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका केन्द्रीय कार्यालय आ.ले.प. विभागका अधिकृत प्रकाश पौडेल रहेका थिए । उक्त कार्यक्रममा जसपुर प्रहरी चौकी दाङको कार्यालय प्रमुख राम औतार चौधरीको पनि उपस्थिति रहेको थियो ।

तालिममा उपस्थित सहभागीहरुलाई सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड उरहरी शाखाकी सहायक एलिना थापाले स्वागत मन्तव्य दिएकी थिइन् । तालिमको उद्देश्य, महत्व बारेमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका मदनचौक सुपरीवेक्षण मुकाम, बाँकेका सुपरीवेक्षण अधिकृत विक्रम उपाध्यायले जानकारी गराएका थिए । संस्थाको उरहरी शाखाकी प्रमुख रिमा कँडेलले शाखाको प्रतिवेदन प्रस्तुत गर्दै सहभागीहरुलाई तालिममा सक्रियतापूर्वक सहभागी भइ राम्रोसँग सिक्न, तालिमलाई ब्यवहारमा उतारेर फाइदा लिन जानकारी गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रकाश पौडेलले कर्जा लिएर कर्जाको सदुपयोग गर्न सुझाउनुका साथै बचत गर्न उत्प्रेरणा गर्दै ब्यवसायिक रुपमा परियोजना सञ्चालन गर्न जानकारी गराएका थिए । तालिमका मुख्य प्रशिक्षक बालकृष्ण सापकोटाले फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनरको महत्व, फाइदा, आवश्यकता बारेमा जानकारी गराएका थिए साथै घरमै बसेर थोरै लगानीमा यो ब्यवसाय गर्न सकिने जानकारी गराएका थिए ।

तालिममा सहभागीहरु तुलसीपुर उपमहानगरपालिका १४ गोठवाकी सरिता चौधरी, तुलसीपुर उपमहानगरपालिका १४ इवाङपुरकी राधा खत्री, तुलसीपुर उपमहानगरपालिका १२ पुकारपसलकी निरुता डाँगी, तुलसीपुर उपमहानगरपालिका ११ उरहरीकी तारा कुमारी के.सी.डाँगीले तालिमको मूल्याकंन मन्तब्य राखेका थिए ।

फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर उत्पादन गर्न सकिएको खण्डमा फाइदा लिन सकिने रहेछ । मन्तब्यका क्रममा सहभागीहरुले तालिममा सिकेका ज्ञान, सीपलाई ब्यवहारमा उतार्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

सहभागीहरुले तालिम पाएकोमा खुशी ब्यक्त गरेका थिए । तालिमको अन्त्यमा तालिममा सहभागीहरुलाई प्रमाणपत्रका साथै फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर पनि वितरण गरिएको थियो । तालिमको सञ्चालन संस्थाको उरहरी शाखाकी शाखा प्रमुख रिमा कँडेलले गरेकी थिइन् ।

यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९७ कार्यालयहरुको सञ्जालहरुमार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आई रहेको छ ।

यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आइरहेको छ । संस्थाले २०८१ बैशाख मसान्तसम्ममा ७५ हजार ३२० घरधुरीहरुमा सेवा विस्तार गरेको छ ।

संस्थाले २०८१ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अर्ब २१ करोड ४७ लाख रहेको छ भने ग्राहक सदस्यहरुको रु. १ अरब १७ करोड ७३ लाख बचत परिचालन गरेको छ ।

ह्याण्ड वाश बनाउन चाहिने सामग्री, ह्याण्डवाश बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, ट्वाइलेट क्लिनर बनाउन चाहिने सामग्री, ट्वाइलेट क्लिनर बनाउन चाहिने कच्चा पदार्थको उपलब्धता, मूल्य, फिनेल बनाउन चाहिने सामग्री, फिनेल बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, वित्तीय साक्षरता आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले बताएका थिए ।

संस्थाले विगत सात वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा जानकारी गराएका थिए ।

संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पु¥याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरी रहेको छ ।

संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दैं जाने लक्ष्य रहेको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेललेले जानकारी गराएका थिए ।