मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको मंसिर ४ गते शनिबार सम्पन्न दशौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट ३४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । सभाले बोनस सेयर जारी गरेपछि कायम हुन आउने चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय समेत पारित गरेको छ ।
मुक्तिनाथ राष्ट्रियस्तरको विकास बैंक हो । राष्ट्र बैंकको निर्देशनअनुसार, राष्ट्रिय स्तरका विकास बैंकले आगामी असार मसान्तसम्ममा २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ । गत कात्तिक २५ गतेसम्म ५० प्रतिशत हकप्रद जारी गरेर मुक्तिनाथले चुक्तापुँजी सवा अर्ब पुर्याएको छ । यसबाट ३४ प्रतिशत बोनस जारी गर्दा बैंकको पुँजी १ अर्ब ५४ करोड २७ लाख १६ हजार २ सय ६० रुपैयाँ पुग्नेछ । यसपछि, ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा बैंकको चुक्तापुँजी दुई अर्ब १५ करोड ९८ लाख रुपैयाँ पुग्नेछ ।
सोही सभाले यस विकास बैँकको केन्द्रीय कार्यालय कमलादी, काठमाण्डौंमा स्थानान्तरण गर्ने, बैंकको जारी तथा चुक्ता पूँजी रु. २ अर्ब १५ करोड ९८ लाख २ हजार ७ सय ६४ पुर्याउने र अन्य उपयुक्त वित्तीय संस्थासंग प्राप्ती÷गाभ्ने प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका सम्पूर्ण सामान्य तथा विशेष प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको छ ।
सभामा, बैंकको लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालित केन्द्रहरुको आ.व.२०७२/०७३ को मूल्याङ्कनको आधारमा शाखा स्तरीय छनौटमा प्रथम भएका केन्द्रहरु मध्येबाट सर्वोत्कृष्ट १० वटा केन्द्रहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।