May 19th, 2024

नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित

बैंकिङ खबर/नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मानित गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा इटहरीमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो ।

समारोहमा नेशनल अवार्ड विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभर बाट नेशनल रत्नमा उत्साहजनक रूपमा अभिकर्ताहरू छनौट हुन सफल भएको बताए ।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार कोशी र मधेस प्रदेशका अभिकर्ताहरूबाट सम्मान कार्यक्रम सुरु गरिएको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै नै सम्मान गरिने ब्यहोरा जानकारी गराए ।