May 12th, 2024

घरजग्गा कारोबार कम्पनीमार्फत गर्न अध्यक्ष लोहनीको माग

बैंकिङ खबर/नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबार भन्दा पनि कम्पनीमार्फत् गर्न आवश्यक रहेको बताएका छन्।

कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधरण सभामा बोल्दै उनले व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै संयुक्त कम्पनीमार्फत ठूला आयोजनाहरुमा काम गर्ने वातावरण व्यवसायीहरूले बनाउन आवश्यक देखिएको उल्लेख गरे।

‘ल्याण्ड पुलिङ सरकारले निजी क्षेत्रको लागि ढोका खोल्नुपर्छ। सरकारले ७५३ स्थानीय तहमा ल्याण्ड उपभोग पोलिसी लागू भइसकेको छ। उहाँहरूले आवासीय क्षेत्रहरुको वर्गीकरण गर्छ। त्यसको स्थानीय सरकारले गुरुयोजना बनाओस्। गुरुयोजनामा विल्डिङ गर्नुपर्‍यो,’ उनले भने, ‘टाउनप्लानिङ बनाउनुपर्छ। खुद्रे आयोजनाहरू होइन। घरजग्गा व्यवसायीले साना योजना गर्नुको सट्टा धेरै जना मिलेर कम्पनी बनाउने र साना कम्पनीहरु मर्ज भएर ठूला पुँजी भएका कम्पनीहरु बनाउनुपर्छ।’

सरकारले व्यवस्थित र पारदर्शी घरजग्गा कारोबार बनाउनको लागि ल्याण्ड पुलिङको ढोका खोल्न आवश्यक रहेको उनले बताए। उनले ७५३ स्थानीय तहमा ल्याण्ड उपभोग नीति लागू भएकाले त्यहीअनुसार स्थानीय तहहरुले पनि शहर बनाउने गुरुयोजना बनाउनुपर्ने पनि बताए। स्थानीय तहहरूले बनाएको योजनामा निजी क्षेत्रले कम्पनीमार्फत काम गर्दा व्यवस्थित शहर बनाउन सकिने पनि बताए।