May 1st, 2024

कर्जाको आकार र डिफल्ट दरका आधारमा बैंकहरुको अडिट गरिँदै

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय अडिट फर्ममार्फत कर्जामा केन्द्रीत भई वाणिज्य बैंकहरुको लेखापरिक्षण गराउने प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकले कर्जाको आकार र डिफल्ट रेटका आधारमा लेखापरिक्षण गर्ने प्रक्रियाका लागि अन्तर्राष्ट्रिय अडिटर छनोट सुरु गरेको हो ।

केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय बोलकबोल मार्फत आह्वान गरेको अडिट फर्म छनोटका लागि मंगलबबार सर्टलिस्ट गरेको छ । बैंकले आवेदकहरु मध्येबाट तोकिएको मापदण्ड पुरा गरेका ५ अन्तर्राष्ट्रिय अडिट फर्मलाई सर्टलिस्ट गरेको छ । सर्टलिस्टमा परेका अडिटफर्ममा जर्मर्नी, नेदरल्याण्डका फर्महरु तथा तीसँग सम्बधन लिएका भारतीय तथा पाकिस्तानी फर्म रहेका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले विस्तारी कर्जा सुविधाका दिनका लागि सञ्चालनमा रहेका वाणिज्य बैंकको सम्पत्तिको गुणस्तरको लेखापरिक्षण गर्नु पर्ने शर्त राखेको थियो । सो शर्त अनुसार केन्द्रीय बैंकले कर्जामा केन्द्रीत भएर पूर्ण लेखापरीक्षण गर्न तयार भएको थियो । सोही अनुसार केन्द्रीय बैंकले कर्जाको आकार र डिफल्ट रेटलाई आधार बनाई पूर्ण लेखापरीक्षण गराउने प्रक्रिया अघि बढाएको हो ।