April 21st, 2024

आयात निर्यात दुवै घट्यो

बैंकिङ खबर/ चैत महिनामा आयात निर्यात दुवै घटेको छ। भन्सार विभागले सार्वजनिक गरेको चैत महिनाको तथ्याङ्क अनुसार आयात निर्यात दुवै घटेको देखिएको हो। विभागका अनुसार चैतसम्म ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ।

जुन गत वर्षको सोही अवधिको तुलनामा २.८४ प्रतिशत कम हो। गत वर्ष सोही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँ बरावरको आयात भएको थियो।

यसैगरी निर्यातमा पनि धक्का लागेको छ। विभागका अनुसार चैतसम्म १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ३.६६ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा एक खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो।

आयात निर्यात दुवै घट्दा व्यापार घाटामा भने थोरै सुधार देखिएको छ। चैतसम्म व्यापार घाटा १० खर्ब ५३ अर्ब रुपैयाँमा झरेको छ। गत वर्ष सोही अवधिमा १० खर्ब ८३ अर्ब रुपैयाँ व्यापार घाटा रहेको थियो। जुन २.७ प्रतिशतले घटेको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा छ।

आयात घट्दै गर्दा मुलुकले प्राप्त गर्ने राजस्वमा समेत धक्का लागेको छ। अर्कोतर्फ निर्यात घट्दै जाँदा उल्लेख्य रुपमा व्यापार घाट कम गर्न सघाउ पुगेको छैन।