April 19th, 2024

अधिकांश फाइनान्सको नाफा घट्यो

बैंकिङ खबर/चालु आर्थिक वर्षको ९ महीना अवधिमा सञ्चालनमा रहेको वित्त कम्पनीहरुमध्ये मल्टिपर्पस फाइनान्स बाहेक सबै फाइनान्सको नाफा घटेको छ । खराब कर्जा बढेर सो वापत गर्नुपर्ने प्रोभिजनका कारण फाइनान्सहरुको मुनाफामा असर पुगेको हो ।

चालु आर्थिक वर्षको ९ महीना अवधिमा सबैभन्दा धेरै घाटामा पोखरा फाइनान्स पुगेको छ । सो फाइनान्सले १८ करोड २९ लाख ३३० हजार नोक्सानी ब्यहोरेको छ । गत आवको सोही अवधिमा ३ करोड १६ लाख २१ हजार नाफामा थियो । समीक्षा अवधिमा फाइनान्सको नाफा ६७८ प्रतिशतभन्दा बढीले घटेको हो ।

यसैगरी जानकी फाइनान्स कम्पनीले १० करोड ८६ लाख ३० हजार, गुडविल फाइनान्स ८ करोड ६४ लाख ६४ हजार रुपैयाँ र सेन्ट्रल फाइनान्सले ६ करोड १४ लाख ८४ हजार नोक्सानी ब्यहोरेको छ । गत आवको यसै अवधिमा जानकी फाइनान्स १ करोड ५३ लाख ४५ हजार, गुडविल फाइनान्स १ करोड ९९ लाख ९० हजार रुपैयाँ र सेन्ट्रल फाइनान्सले २ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै यस अवधिमा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको नाफा ५ करोड ५० लाख ९३ हजार रुपैयाँ ऋणात्मक छ । गत आवको यसै अवधिमा कम्पनी ८४ लाख १८ हजार रुपैयाँ नाफामा थियो । यसैगरी प्रोगेशिभ फाइनान्सले चैत मसान्तसम्म ५ करोड ४९ लाख रुपैयाँ र रिलायन्स फाइनान्स ४ करोड ७२ लाख ५१ हजार रुपैयाँ नोक्सानीमा छन् । गत आवको तेस्रो त्रैमासमा प्रोगेशिभ फाइनान्स ७ करोड ५१ लाख १९ हजार नोक्सानीमा रहँदा रिलायन्स फाइनान्स भने ४६ लाख ३९ हजार नाफामा थियो । 

चैत मसान्तमसम्ममा नेपाल फाइनान्स १३ लाख १८ हजार, बेष्ट फाइनान्स ८० लाख २६ हजार र मल्टिपर्पस फाइनान्स १ करोड ५९ लाख ३२ हजार रुपैयाँ नाफामा छ । गत आवको सोही अवधिमा नेपाल फाइनान्स १ करोड ३ लाख ३४ हजार, बेष्ट फाइनान्स २ करोड ३० लाख ३१ हजार र मल्टिपर्पस फाइनान्स ५३ लाख ६६ हजार रुपैयाँ नाफामा थियो । समीक्षा अवधिमा मल्टिपर्पस फाइनान्सको खुद नाफा १९६ प्रतिशतले बढेको हो ।

चैत मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाएको मञ्जुश्री फाइनान्सले १५ करोड ९ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १७ करोड १७ लाख बढी नाफा आर्जन गरेको तुलनामा १२.०७ प्रतिशतले घटेको हो । गोर्खाज फाइनान्सको नाफा ४०.०६ प्रतिशतले घटेर ५ करोड ४८ लाख ७५ हजारमा खुम्चिएको छ । गत आवको चैतसम्म गोर्खाज फाइनान्सले ९ करोड १५ लाख ५४ह जार रुपैयाँ नाफा कमाएको थियो ।

यसैगरी आईसिएफसि फाइनान्सले चैतसम्म ३ करोड ३२ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा आईसिएफसिले ८ करोड ३९ लाख ४८ हजार नाफा कमाएको थियो । अघिल्लो चैतभन्दा आईसिएफसीको नाफा ६०.३६ प्रतिशतले घटेको हो ।
साथै चैतसम्म श्री इन्भेष्टमेन्ट फाइनान्सले ३ करोड १२ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको चैतसम्म ४ करोड ४८ लाख ६० हजार नाफा आर्जन गरेको उक्त फाइनान्सको नाफा ३०.४१ प्रतिशतले घटेको हो ।

विसं २०७९ चैतको तुलनामा २०८० चैतमा गुडविल फाइनान्सको खुद नाफा ५३२ प्रतिशत, जानकी फाइनान्सको ८०७ प्रतिशत, सेन्ट्रल फाइनान्सको ३५७ प्रतिशत, गुहेश्वरी मर्चेन्टको ७५४ प्रतिशत, प्रोगेशि फाइनान्सको २६.५२ प्रतिशत, रिलायन्स फाइनान्सको १११८ प्रतिशत, नेपाल फाइनान्स ८७ प्रतिशत, बेष्ट फाइनान्सको ६५.१५ प्रतिशतले घटेको हो ।