बैंकिङ खबर/ फोर्ब्सले प्रकाशित गरेको विश्वका अर्बपतिको सूचीमा रिलायन्स इन्डस्ट्रिज(आरआईएल)का प्रमुख मुकेश अम्बानी शीर्ष १० मा पर्न सफल भएका छन्। उनी विश्वकै नवौँ धनीव्यक्ति बनेका हुन् ।
रिलायन्स इन्डस्ट्रिजको व्यवसाय तेलदेखि दूरसञ्चार क्षेत्रसम्म फैलिएको छ। फोर्ब्सका अनुसार अम्बानीसँग ११६ अर्ब डलरको सम्पत्ति छ। गत वर्ष अर्थात २०२३ मा उनको सम्पत्ति ८३.४ अर्ब डलर थियो। उनी भारतकै धनीव्यक्ति पनि हुन्।
गौतम अडानी दोस्रो धनी भारतीय हुन्। उनी विश्वव्यापी सूचीमा १७ औँ स्थानमा छन्। उनको सम्पत्ति ८४ अर्ब डलर छ। सन् २०२३ मा अमेरिकी सर्ट सेलर हिन्डनबर्ग रिसर्चको प्रतिवेदन सार्वजनिक भएपछि एक समय उनको सम्पत्ति ९० अर्ब डलरबाट २०२२ सम्ममा ४७.२ अर्ब डलरमा झरेको थियो। तर, अडानी समूहले सबै आरोप अस्वीकार गरेको छ।
फोर्ब्सले सन् २०२४ को धनी सूचीमा २ हजार ७८१ जनालाई समावेश गरेको छ। गत वर्षको तुलनामा यसमा १४१ जना बढी छन्। सूचीअनुसार विश्वका धनीहरु अहिले झन् धनी भएका छन्।
तिनीहरुको कुल सम्पत्ति १४.२ ट्रिलियन रहेको छ। जुन सन् २०२३ भन्दा २ ट्रिलियनले बढी हो। धनाढ्यको सूचीमा परेका दुई तिहाइ धनीको सम्पत्ति १ वर्षअघिको तुलनामा बढेको छ भने एक चौथाइको सम्पत्ति घटेको छ।