March 31st, 2024

ग्रामीण विकास लघुवित्तद्वारा नेतृत्व विकास,सकारात्मक सोच र तनाव व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन


बैंकिङ खबर/ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा ‘Unfolding Positive Attitude for Behaviour Change And Performance Excellence’ विषयक तालिम २०८० चैत्र १६ गते शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।

संस्थामा आवद्ध कर्मचारीहरूमा नेतृत्व सीप, तनाव व्यवस्थापन र सकारात्मक सोंचको क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको तालिममा संस्थामा क्रियाशील तीनवटै युनियनका सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा सदस्यहरु लगायत अन्य कर्मचारीहरु गरी १ सय १ जनाको सहभागिता रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले तालिम कार्यक्रमको समुद्घाटन गर्नु हुँदै कर्मचारीहरूले तालिममा सिकेका विषयहरुलाई व्यवहार र कार्य सम्पादनमा लागु गर्नु पर्ने बताए । सो अवसरमा कर्मचारीहरुमा तनाव व्यवस्थापन, सकारात्मक सोंच र क्षमता विकासका लागि संस्थाले यस्ता तालिम कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्दै जाने उल्लेख भयो । तालिम कार्यक्रममा कर्मचारीहरूमा तनाव व्यवस्थापन, सकारात्मक सोंच, नेतृत्व सीप र कार्य क्षमताको विकास, आदि विभिन्न विषयमा स्टाफ कलेजका पूर्व सिनियर डाइरेक्टर तथा क्लिनिकल साइकोलोजिष्ट बरिष्ठ प्रशिक्षक डा. केदार बहादुर रायमाझीले प्रशिक्षण दिएका थिए ।

तालिम समापनका अवसरमा सबै सहभागिहरूलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाले प्रमाण पत्र वितरण गरेका थिए । समापन अवसरमा मन्तव्य दिने क्रममा प्रमुख कार्यकारी अधिकृत कटुवालले संस्थाको उन्नति र प्रगतिमा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै संस्थाको वासलात र नाफा नोक्सान हिसावलाई राम्रो बनाउन कार्यक्षेत्रमा परिणाममुखी कार्य गर्नु पर्ने र यसका लागि कर्मचारीले परंपरागत व्यवहारमा परिवर्तन गरी ग्राहकहरूको बीचमा मुस्कान सहितको सेवा प्रदान गर्नु पर्ने विषयमा जोड दिएका थिए ।

 

संस्थाका नायव कार्यकारी प्रमुख दिपक प्रसाद पाण्डेले आगामी दिनमा समेत संस्थाले आन्तरिक तथा वाहय रुपमा सञ्चालन हुने विभिन्न तालिम कार्यक्रमहरुमा कर्मचारीहरुलाई थप सहभागिता गराउँर्दै जाने बताए । हालै देश व्यापीरूपमा संस्थाको कार्यक्षेत्र भित्र बसोवास गर्ने महिला तथा पुरूषहरूलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन र अन्तरप्रदेश रूपमा ग्राहकहरूको अवलोकन भ्रमण सम्पन्न गरिसकेको हुँदा संस्थाले समग्र पक्षलाई सम्बोधन गर्दै अगाडी बढिरहेको बताए ।

तालिम समापनका अवसरमा संस्थामा क्रियाशील तीनवटै युनियनका अध्यक्षहरू इश्वर प्रसाद लम्साल, अम्बर पौडेल र दिपेन्द्र लुइटेलले मन्तव्य व्यक्त गर्दै तालिममा धेरै विषयवस्तुहरू सिक्ने र बुझ्ने अवसर पाएको हुँदा तालिम अत्यन्त फलदायी रहेको विचार व्यक्त गर्दै आगामी दिनमा समेत थप कर्मचारीहरूलाई समेत यस प्रकारका तालिम सञ्चालन गर्दै जानु पर्ने विषयमा जोड दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]