दक्षिण भारतको कर्नाटका राज्यमा विश्वकै एउटा सबैभन्दा खर्चिलो वैवाहिक समारोहको आयोजना भइरहेको छ । पूर्व प्रान्तिय मन्त्री तथा एक जना विवादित खानी व्यवसायी जनार्दन रेड्डीले आफ्नी छोरी ब्रह्माणीको विवाहमा करिव आठ अर्ब रुपियाँ खर्च गर्न लागेको विवरणहरुमा जनाइएको छ । पाँच दिन चल्ने उक्त विवाहमा दशौँ हजार पाहुना निम्त्याइएको छ भने बलिउड कलाकारहरुले आफ्नो प्रस्तुती दिने बताइएको छ ।
आलोचकहरुले लाजमर्दो पाराले पैसाको प्रदर्शन गरेको भन्दै विवाहको आलोचना गरिरहेका छन् ।
तडकभडक
दशौँ लाख भारतीय सर्वसाधारण पाँच सय र एक हजार रुपियाँका नोटमा लागेको प्रतिबन्धका कारण छटपटिरहेको असहज परिस्थितिमा उक्त विवाहको खबर प्रकाशमा आएको हो । समाचार विवरणहरुका अनासार विवाहका लागि सुन र एलसीडी स्क्रिन जडित निम्ता कार्डका लागि डेढ करोड रुपियाँ भन्दा बढी खर्च गरिएको छ । त्यस्तै बेहुलीको साडीका लागि २७ करोड रुपियाँ भन्दा बढी र गरगहनाका लागि झण्डै डेढ अर्ब रुपियाँ खर्च गरिएको छ । भारतीय संचारमाध्यमका अनुसार विवाहस्थलमा ३ हजार निजी सुरक्षाकर्मी र ३ सय प्रहरीका साथै तालिमप्राप्त कुकुर र बम निस्क्रिय बनाउने सुरक्षा दस्ता पनि तैनाथ गरिएको छ । विवाहस्थलमा प्राचीन दरवार र मन्दिरको नक्कल गरि तीसंग मिल्दा संरचना पनि बनाइएका छन् ।
भारतमा नगदमा आधारित अर्थ व्यवस्था छ र विवाहमा ज्यादा नगदै खर्च गर्ने गरिएको देखिन्छ । खानी व्यवसायी रेड्डीले बेंग्लोर र सिङ्गापुरमा रहेका उनका सम्पत्ति धरौटीमा राखिएको तथा विवाह समारोहको खर्चको भुक्तानी ६ महिना अघि नै गरिसकिएको जनाइएको छ । भड्किलो विवाहको समाचारसँगै कालो धन विरुद्धको भारतीय प्रधानमन्त्रीको कारबाही धनी व्यक्ति लक्षित छन् कि छैनन भनेर प्रश्न उठिरहेको छ । भारतीय जनता पार्टीका पूर्व नेता रेड्डीमाथि भ्रष्टाचारको आरोप लागेको छ र उनले तीन वर्ष जेलमा पनि बिताएका छन् ।
आफू माथि लागेका आरोप अस्वीकार गर्दै आएका रेड्डी एक वर्ष अघि जमानतमा रिहा भएका थिए । विवाहको समारोह स्थल बेंग्लोर प्यालेसमा केही महिना अघि बाटै तयारी गरिएको र विवाहको मन्डप र सजावटका लागि भारतीय चलचित्र उद्योग बलिउडका आठ जना निर्देशकहरुलाई निम्ताइएको जनाइएको छ । बीबीसी