नेपालमा रहेको ठूला दरका भारु सटहीका लागि गभर्नर डा. चिरंजीबि नेपालले चौतर्फी रुपमा दबाब दिएका छन् । भारतीय राजदूत, भारतीय रिजर्ब बैंक लगायत सम्बन्धित निकायसँग निरन्तर वार्ता गरिरहेका गभर्नर डा. नेपालले बुधबार विहान भारतीय राजदूत रणजीत रायसँग पुनः यस विषयमा फोनवार्ता गरेका छन् । उनले वैधानिक रुपमा भित्रिएका भारतीय नोटहरु सटही गरिदिन रोयलाई आग्रह गरेका छन् । गभर्नर नेपालले रायसँग कुराकानी गर्दै २५००० भारुसम्मको सटही सुविधा दिन आग्रह गरेको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ ।
गभर्नर डा. चिरंजीबि नेपालले अर्थ मन्त्रालयसँग समन्वयन गरी भारतीय रिजर्ब बैंकका गभर्नर उर्जित पटेल, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय तथा परराष्ट्र मन्त्रालयसँग पटक–पटक फोनबार्ता गरिरहेको बताइएको छ । स्रोतका अनुसार गभर्नर डा. नेपालले दिनहुँजसो टेलीफोनवार्ता र मेसेजका माध्यमबाट यसबारे भारत सरकारलाई दबाब दिइरहेका छन् ।
गत साताको मंगलबारदेखि भारतले ५०० र १००० दरका नोट नचल्ने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार नेपालका बैंक तथा वित्तीय सस्थाहरुमा सो दरका भारतीय नोट साढे तीन करोड रुपैयाँ बराबर छन् । वित्तीय क्षेत्रबाहिर कति भारु छन् भन्ने विषयमा भने यकिन लेखाजोखा भइसकेको छैन ।