Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ठूला सहकारीको अनुगमन शुरु: करिब १ दर्जन सहकारी संस्थाहरुको अनुगमन गरिने

२०८० फाल्गुन १३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरुसँग मिलेर सहकारी विभागले ठूला सहकारी संस्थाहरुको अनुगमन शुरु गरेको छ । सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा तीनवटा समूहले समस्यामा परेका र सञ्चालमा रहेका करिब १ दर्जन सहकारी संस्थाहरुको अनुगमन गर्नेछ ।

सहकारी संस्थाको अनुगमनका लागि राष्ट्र बैंकले उपनिर्देशक डा. रमेश चौलागाईं, लघुवित्त विभागका रमेश पौडेल र गैरबैंकिङ वित्तीय संस्थाका रामकृष्ण राई रहेका छन् ।

तीनवटा समूह बनाएर संस्थाहरुको अनुगमन हुनेछ । अनुगमनको प्रत्येक समूहका एक जना राष्ट्र बैंकका प्रतिनिधि हुनेछन् । सहकारी ऐन, २०७४ मा ५० करोड रुपैयाँभन्दा बढी पुँजी भएका सहकारी संस्थाहरुको नियमन राष्ट्र बैंकले गर्ने व्यवस्था छ । तर, राष्ट्र बैंकले सहकारी आफ्नो क्षेत्रमा नपर्ने भन्दै नियमन गर्न मानेको छैन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला सहकारीको अनुगमन निरीक्षणका लागि सहयोग गर्न भन्दै केही साता अघि राष्ट्र बैंकलाई पत्र पठाएको थियो ।

मन्त्रालयले पत्र नै पठाएपछि राष्ट्र बैंकका जनशक्ति व्यवस्थापन विभागले तीन जना प्रतिनिधि पठाएको हो ।

विभागका तीन वटा समूहले गोर्खा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, आइडियल यमुना बचत तथा ऋण सहकारी, गौतम श्री बहुउद्देश्यीय, लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लगायतको अनुगमन गरेर संयुक्त प्रतिवेदन बनाइने बताइएको छ ।

विभागका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार आज (आइतबार) काठमाडौं उपत्यकामा भएका सहकारी संस्थाहरुको अनुगमन हुनेछ । भोलीबाट उपत्यका बाहिर रहेका सहकारी संस्थाहरुको समेत अनुगमन हुनेछ ।