February 23rd, 2024

निर्धन उत्थान लघुवित्तको पच्चिसौं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा मिति २०८० फाल्गुण ११ गते शुक्रबार निर्धन भवन, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष हरि कृष्ण पन्तको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष पन्तले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

यस वार्षिक साधारण सभाले सामान्य प्रस्तावतर्फ आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात, आर्थिक वर्ष २०७९÷८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरु लगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस संस्थाको आ.व. २०८०/८१ को लेखापरीक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम A.Nepal & Associates Chartered Accountants काठमाडौलाई बाह्य लेखापरीक्षक नियुक्त गरेको थियो ।

उक्त सभामा अध्यक्षको वार्षिक प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरु डम्बरु वल्लभ घिमिरे, निरुपमा गुप्ता, गोविन्द के.सी, सुदीप श्रेष्ठ र सत्रुघ्न श्रेष्ठले साधारण सभामा आफ्नो राय सुझाव पेश गरेका थिए ।
सो क्रममा लघुवित्तका पिता डा.हरिहर देव पन्तले निर्धन तथा विपन्न वर्गलाई सेवा पुर्याउने हेतुले २०४९ देखि लघुवित्त सेवा शुरु गरेका हुन् । यस संस्थाले २५ औ वर्ष पुरा गरेको छ । स्थापनादेखि हालसम्म यस संस्थाले शोयरधनिहरुलाई राम्रै प्रतिफल दिँदै आएको छ ।

गत वर्ष २० प्रतिशत र आ.व.२०७७।७८ मा ३० प्रतिशत लाभांश दिएको थियो । यो संस्था नेपालकै राम्रो सार्वजनीक कम्पनीको रुपमा चिनिन्छ । ऋणीहरुमा ऋण तिर्नुपदैन भन्ने भ्रमले गर्दा असुलीमा प्रभाव परि संस्थाको निश्क्रिय कर्जा बढेकोले हालको अवस्था चुनौतीपूर्ण रहेको छ । जसले गर्दा संस्थाको नाफामा ७० प्रतिशतले हस भएको देखियो । यस अवस्थामा राज्यले सुरक्षाको प्रत्याभुति दिन नसकेको र सरकार मुकदर्शक भएर बसेकोमा चिन्ता प्रकट गरेका थिए । यसमा लघुवित्तमा देखिएका समस्याहरुको समाधानको लागि नेपाल राष्ट्र बैंक र सरकारको आवश्यक पहल जरुरी रहेको र संस्थाले कर्जा असुलीको लागि पहल गर्न सुझाव दिए ।

संस्थाका कर्मचारी शेयरधनी एउटै डुंगामा रहेको र संस्थाको जगेडा कोष राम्रो रहेकोले यसवर्ष लाभांस नदिएता पनि आगामी वर्ष कम्तीमा १० प्रतिशत लाभांश दिनेछ भन्ने अपेक्षा सत्रुघ्न श्रेष्ठले ब्यक्त गरे । यसै क्रममा उनले नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई ऋण तिर्नुपर्छ भन्ने सन्देश प्रवाह गनुपर्ने र संस्थाले पनि ग्राहक सदस्यहरुसंग राम्रो व्यवहार गरेर ऋण असुलीमा जोडदिन श्रेष्ठले सुझाव दिए ।

संस्थाले सामाजिक उत्तरदायित्व शिर्षकमा धेरै नै रकम सहयोग गरेको पाईएकाले सो सहयोगको उचित सदुपयोग भएको छ छैन ब्यवस्थापन/समितिमार्फत अनुगमन गर्न सुझाव दिँदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना शेयरधनी सुदिप श्रेष्ठले व्यक्त गरे । देशको ७७ वटै जिल्लामा १८५ वटा शाखाहरु रहेको यस निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २०८० पौष मसान्त सम्ममा ग्राहक सदस्य संख्या ४०१,१०९, ऋणी संख्या १९९,१४३ र लगानीमा रहेको कर्जा रु. २५ अर्व ६२ करोड ७० लाख रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]