
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले अफवाहका पछि नलागि ढुक्कसँग कारोबार गर्न आग्रह गरेका छन् ।
महिला आर्थिक पत्रकार संघ फेजाले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले भने, ‘राष्ट्र बैंकले इजजात प्रदान गरेका संस्थाहरु आफैमा सुरक्षित छन् त्यसमा कारोबार गर्दा सर्वसाधारणले ढुक्क भए हुन्छ । वित्तीय अवस्था जनाउ दिने सूचकहरु हामीसँग प्रसस्त छन् । हामीले त्यस्ता सूचकहरुमा विशेष निगारानी राखिरहेका हुन्छौँ । यदि कुनै संस्था समस्याग्रस्तको अवस्था आएमा राष्ट्र बैंकले आफैँ व्यवस्थापन टेकओभर गरेर सञ्चालन गर्न सक्छ । त्यो अधिकार राष्ट्र बैंकसँग छ । राष्ट्र बैंक केही नबोलेको अवस्थामा निक्षेपकर्ता डुब्ने भन्ने कुरा नै आउँदैन ।’
उनेल बैंकको वित्तीय स्थिति जनाउ दिन तथा सञ्चालनको अवस्था बुझाउन राष्ट्र बैंकसँग छुट्टै गाइडलाइन र इन्डिकेटरहरु रहेकाे बताए । उनले भने, ‘जस्तो पुँजीकोष अनुपात २ प्रतिशतभन्दा कम भयो वा ४ प्रतिशतभन्दा कम भयो भने कस्तो कारबाही गर्ने भन्ने व्यवस्था राष्ट्र बैंकको गाइडलाईनमै उल्लेख छ । बैंकलाई थाह हुन्छ गाइडलाईन तलमाथि गएमा स्वतः कस्तो कारबाहीको भागिदार बन्नु पर्छ भन्ने । तसर्थ राष्ट्रबैंक बोलिरहनुपर्दैन ।’


