Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

निर्जीवन बीमा कम्पनीहरुको मुनाफा तीन अर्ब

२०८० फाल्गुन ३ गते

बैंकिङ खबर/सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक अवधिमा ३ अर्ब ८५ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अपरिष्कृत वित्तीय विवरण अनुसारको हो ।

गत आवको दोस्रो त्रैमाससम्म १४ निर्जिवन कम्पनीहरुले २ अर्ब १० करोड ९० लाख ६१ हजार रुपैयाँ मुनाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ४२.६५ प्रतिशतले वृद्धि भएको हो ।

पुस मसान्तसम्ममा अवधिमा ७ निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २० करोडभन्दा बढी छ । पाँच कम्पनीको खुद नाफा १० करोडभन्दा बढी र एक कम्पनीको दश करोडभन्दा कम छ । एक कम्पनी घाटामा छ ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये चालु आवको पहिलो ६ महीना अवधिमा गत पुसको तुलनामा १३ ओटा कम्पनीले मुनाफा बढाएका छन् । समीक्षा अवधिमा नेशनल इन्स्योरेन्स घाटामा रहेको छ । पुस मसान्तमा नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै २३२.३४ प्रतिशतले नाफा बढेको छ । सिद्धार्थ प्रिमियर र दि ओरियन्टल इन्स्योरेन्सको पनि एक सय प्रतिशतभन्दा बढीले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा कम १४.१८ प्रतिशतले बढेको छ ।