
बैंकिङ खबर/ नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बैंक पनि मिटरब्याजी नै भएको बताएका छन् । शुक्रवार एमाले निकट बैंक, बीमा तथा वित्तीय कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बैंक पनि मिटरब्याजी रहेको बताएका हुन् ।
‘मैले सुन्छु बिमाले रकम खायो, बैंक पनि मिटरब्याजी भयो । अरुले नकमाउने तर बैंकले कमाउने त्यो तरिका के हो ? त्यसैले बैंक पनि मिटरब्याजी नै हो’, अध्यक्ष ओलीले तीन तीन महिनामा ब्याज साउमा गाभेर रकम असुल्ने गरेकाले त्यो पनि मिटरब्याज नै भएको बताए । उनले आफ्नो मात्रै मर्का हेरेर बैंकहरु चल्ने गरेको भन्दै ऋणीहरू मरेको मर्यै भएको बताए ।
‘कसैले डिपोजिट गरिदिएन भने कसरी बैंक बन्छ ?’, अध्यक्ष ओलीले प्रश्न गरे । उनले बैंकको अलवा बीमा तथा अन्य वित्तीय क्षेत्रबारे थुप्रै प्रश्नहरू उठेको भन्दै यसबारेमा यथार्थ दृष्टिकोण आउनुपर्ने बताए । बैंक विकासका सहयोगी हुनुपर्ने भन्दै नाफाखोर हुन नहुने ओलीको भनाइ छ ।
‘बैंकबाट नौ प्रतिशतमा लिएको ऋण केही समय १०, १२ हुँदै १४ प्रतिशतसम्म पुग्ने गरेको छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘उक्त ऋण तिर्न जाँदा ब्याजले सेवाग्राहीलाई समस्यातर्फ धकेलिरहेको हुन्छ।’ उनले ऋण लिने र दिने दुवैको सहमतिबाट ब्याजको दर फेरवदल गर्नुपर्ने धारणा राखे।
‘नौ प्रतिशतमा ल्याइएको ऋणको ब्याज १२–१४ प्रतिशत कहाँबाट ल्याएर तिर्ने ? ऋणीलाई कहाँबाट प्रतिफल आउँछ र तिर्ने?’, अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई मर्का पर्यो त्यस कारण ब्याजको दर बढायौँ। अर्का ऋणीलाई परेको मर्का कसले हेर्ने रु सहमतिका आधारमा निश्चित मापदण्ड बनाएर ऋण लिने र दिने व्यवस्था गर्नुपर्छ।’ धितो र ऋण असुल गर्नुमात्र बैंकको काम नभएकोसमेत उनले बताए।
बैंकले लगानी गरेपछि उक्त रकम सदुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो। बैंक विकासको सहयोगी बन्नुपर्ने भन्दै उनले सानो पुँजीबाट केही सुरुआत गरौँ भन्नेलाई बैंकले ऋण दिनुपर्ने बताए।
कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको आर्थिक अवस्था बिग्रिरहेकाले सरकारले सुधार गर्नुपर्ने बताए।




