January 31st, 2024

पुनर्बीमा कम्पनीको पुँजी वृद्धि गरिँदै

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको तयारी गरेको छ । हाल सञ्चालनमा रहेका पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी कम्तीमा २० अर्ब रुपैयाँ पुर्याउनेगरी प्राधिकरणले गृहकार्य सुरु गरेको हो ।
यसै सन्दर्भमा बुधवार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले १ वर्षभित्र २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने गरी कम्पनीहरूलाई निर्देशन गर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिको निर्णय बमोजिम छिट्टै कम्पनीहरूलाई निर्देशन समेत दिइने प्राधिकरणले जनाएको छ । तथापि, चुक्ता पुँजी वृद्धिका लागि कम्पनीहरूलाई योजना पेश गर्न मौका दिइने समेत प्राधिकरणले जनाएको छ ।

हाल नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रि–इन्स्योरेन्स गरी मुलुकमा दुईवटा पुनर्बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । नेपाल सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीको हाल चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने हालै मात्र आईपीओ जारी गरेको हिमालयन रि–इन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । यी कम्पनीहरूले चुक्ता पुँजी वृद्धिका लागि राइट सेयर (हकप्रद) जारी गर्ने प्रस्ताव राख्न सक्ने उच्च सम्भावना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]