
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरूको असोज महिनासम्मको महत्त्वपूर्ण वित्तीय उपकरणसम्बन्धी तथ्यांक अनुसार चार बैंकलाई पुँजी दबाब देखिएको छ ।
कुमारी बैंक, एनआइसी एशिया बैंक, माछापुच्छ्रे बैंक र प्रभु बैंकको यस्तो पुँजी कोष पर्याप्तता कमजोर देखिएको हो । राष्ट्र बैंकको नियमअनुसार बैंकहरूको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्छ। तर कुमारीको यस्तो अनुपात सबैभन्दा कम ८.२१ प्रतिशत, एनआइसी एशियाको ८.७३ प्रतिशत, माछापुच्छ्रे बैंकको ८.७९ प्रतिशत र प्रभु बैंकको ८.९२ प्रतिशत रहेको छ।
यो अनुपात दबाबमा रहेको बैंकहरूलाई पुँजी स्रोत नबढी कर्जा लगानी गर्न समस्या पर्ने देखिएको छ। यसरी पुँजी दबाबमा अन्य केही बैंकसमेत छन्।
सिद्धार्थ बैंक, हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एनएमबी बैंक लगायतको यस्तो अनुपात समेत १० प्रतिशतभन्दा कम छ। यस्तो अनुपात कुनै पनि त्रैमासमा तोकिएकोभन्दा कम भएमा बैंकहरूको लाभांश वितरणमा समेत रोक लगाइएको छ।
त्यस्तै जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपातसमेत जोडिने कुल पुँजी कोष अनुपातमा समेत अन्य केही बैंकलाई दबाब छ। यस्तो कुल पुँजी कोष अनुपात भने हाल कम्तीमा ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ। यस आधारमा भने लक्ष्मी सनराइज, प्राइम कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई समेत दबाब छ।
यी बैंकको कुल पुँजी कोष अनुपातमा कम्तीमा ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशतभन्दा कम छ। सरदर १३ प्रतिशत यो अनुपात रहेका बैंकहरूलाई यस्तो दबाब हुँदैन। १० वटा वाणिज्य बैंकलाई पुँजी कोष दबाब देखिँदैन।




