Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

खूद ब्याज आम्दानी : नबिलको भन्दा ग्लोबल आइएमइको बढी

२०८० माघ १४ गते

बैंकिङ खबर/ हाल नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये एक ठूलो बैंक हो ग्लोबल आइएमई बैंक । पुँजी तथा व्यवसायको आकारका हिसाबले ग्लोबल आइएमई नेपालकै सबैभन्दा ठूलो बैंकका रुपमा लिन सकिन्छ ।

यता प्रमुख वित्तीय सूचकहरुका आधारमा हेर्दा नबिल बैंक उद्योगको लिडरका रुपमा लिन सकिन्छ । यी दुई बैंकको वित्तीय सूचकदेखि गतिविधिसम्ममा लगानीकर्ता, नियामक र सर्वसाधारणको साचोको विषयका रुपमा हेर्ने गर्दछन् । यी दुवै बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणहरु पनि सार्वजनिक गरिसकेका छन् ।

बैंकिङ उद्योगको ठूलो बैंक ग्लोबल आइएमई बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ४ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको नाफा २६.५७ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोडले ऋणात्मक बन्न पुगेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २.९२ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर ४.६८ प्रतिशत पुगेका कारण इम्पेयरमेन्ट चार्जेज ह्वात्तै बढ्दा नाफा प्रभावित हुन पुगेको हो ।
बैंकले इम्पेयरमेन्ट चार्जेजमा मात्रै ४ अर्ब १३ करोड बढी रकम छुट्याउनुपरेको छ ।

नाफा घट्दा वार्षिकीकृत प्रतिसेयर आम्दानी ११.३१ रुपैयाँमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म इपीएस १८.०७ रुपैयाँ थियो ।

ग्लोबल आईएमई बैंकले समीक्षा अवधिमा व्यवसाय विस्तारमा भने व्यापक काम गरेको देखिन्छ । यही कारण बैंकको खूद ब्याज आम्दानी ९ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो । समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकको मूल्य आम्दानी अनुपात १८.१३ गुणा, प्रतिसेयर नेटवर्थ १५७.४ रुपैयाँ रहेको छ ।

नबिलको अवस्था कस्तो ?

दोश्रो त्रैमासमा नबिल बैंकले ३ अर्ब २० करोड खूद नाफा आर्जन गरेको छ । यो बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
गत वर्षको सोही अवधिको तुलनामा नबिलको खूद नाफा ६.२८ प्रतिशतले घटेको देखिएको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म ४ अर्ब ८६ करोड रहेको सञ्चालन मुनाफा पनि घटेर ४ अर्ब ५६ करोडमा सीमित बन्न पुगेको छ । नाफा घटेपनि बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ७ अर्ब ८३ करोडमा सीमित खूद ब्याज आम्दानी बढाएर ८ अर्ब २४ करोड पुर्याएको छ ।

प्रतिकूल अवस्थामा समेत नवीलले खराब कर्जा घटाउने सफलता प्राप्त गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १.४६ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर १.२ प्रतिशतमा सीमित बन्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकले इम्पेयरमेन्ट चार्जेजको रुपमा १ अर्ब ९७ करोड छुट्याएको छ । नाफा सामान्य घटेका कारण नवीलको वार्षिकीकृत प्रतिसेयर आम्दानी थोरै घटी २३.६८ रुपैयाँ कायम भएको छ भने पीई रेसियो २०.८३ गुणा र प्रतिसेयर नेटवर्थ २०४.४४ रुपैयाँ रहेको छ ।