
बैंकिङ खबर/ ऋण मिनाहा हुने नकारात्मक प्रचारका कारण देखिएको समस्या समाधान गर्न नेपाल लघुवित्त बैङ्कर्स संघले (एनएमबिए)ले अर्थमन्त्री डाक्टर प्रकाशशरण महतलाई आग्रह गरेको छ । संघका पदाधिकारीले अर्थमन्त्री महतलाई भेटेर ऋण मिनाहा हुने हल्लाका कारण देखिएको समस्या समाधान गर्न आग्रह गरेको हो ।
संघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री महतले ऋण मिनाहा नहुने र हल्लाको पछि नलाग्न सार्वजनिक रुपमा अपिल गर्ने बताएका थिए । पछिल्लो समय देखिएको समस्या समाधान गर्ने अर्थमन्त्रीले प्रतिवद्धता जनाएको संघका महासचिव संजयकुमार मण्डलले बताए । ‘ऋण मिनाहा हुँदैन, हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभएको छ, ’महासचिव मण्डलले भने,‘ सरकारले बैंक तथा वित्तीय संस्थाका बारेमा फैलिएका भ्रम चिर्न ठोस कदम चाल्ने आश्वासन दिनु भएको छ ।’
अर्थमन्त्री महतले सार्वजनिक कार्यक्रमहरुमा पनि ऋण मिनाहा हुने हल्लाको पछि नलाग्न आग्रह गर्दै आएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईलगायतले लघुवित्तको ऋण नतिर्न र राज्यले मिनाहा गर्ने बताउँदै आएका छन् । ऋण मिनाहाको झुटो प्रचारले विना धितो गरेको लगानी जोखिममा परेको संघले जनाएको छ ।
‘करिब ५९ लाख ९१ हजार विपन्न परिवारका २८ लाख ३२ हजार महिलालाई करिब ४ खर्ब ३४ अर्ब कर्जा प्रदान गरेका छौं, कर्जाको ७९ प्रतिशत सामुहिक जमानीमा ( बिना धितो ) कर्जा प्रवाह भएको छ,’ लघुवित्त संघले अर्थमन्त्रीलाई भनेको छ,‘ लघुवित्त क्षेत्रमा आवद्ध सदस्यहरूलाई कर्जा मिनाहा हुने, लिएको ऋण तिर्न नपर्ने, कर्जा मिनाहको लागि प्रक्रिया अगाडि बढेको जस्ता भ्रामक प्रचारले प्रवाह भएको कर्जाको अधिकांश हिस्सा पूर्ण जोखिममा छ ।’
७७ वटै जिल्लाका अधिकांश स्थानीय तहका परिवारमा वित्तीय पहुँच, महिला सशक्तीकरण, वित्तीय साक्षरता र सामाजिक सचेतनासहित प्रत्यक्ष रोजगारीको क्षेत्रमा लघुवित्तले योगदान पुर्याएको उल्लेख गर्दै संघले पछिल्लो हल्लाका कारण बैैंक तथा वित्तीय संस्था प्रतिको विश्वास कम हुँदै गएको भन्दै महतलाई सचेत गराएको छ ।
संघले तत्काल सरकारका तर्फबाट कर्जा मिनाहा नहुने सूचना जारी गर्न माग गरेको छ .। सरकारसँग वार्ताका नाममा भ्रामक प्रचार भएको बताउँदै संघले अर्थ मन्त्रालयको सचिवको संयोजकत्वमा गठित वार्ता समितिको निर्णय सार्वजनिक गर्न पनि माग गरेको छ ।
कर्जा नतिर्न भन्दै हल्ला गर्नेलाई बैंकिङ्ग कसुर ऐन २०६४ अनुसार कारवाही गर्न माग गरेको संघले भ्रामक प्रचारको कारण उत्पन्न परिस्थितिको समाधानका लागि तत्काल ठोस कदम चाल्न माग गरेको छ । अर्थमन्त्री महतलाई ज्ञापनपत्र बुझाउन संघका अध्यक्ष रामबहादुर यादव, उपाध्यक्ष रामहरि दाहाल, महासचिव संजयकुमार मण्डल युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख डा गोपाल दहित पुगेका थिए ।



