Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हुन्डी कारोबार र संगठित अपराधमा १७ जनाविरुद्ध पौने ३ खर्बको मुद्दा

२०८० माघ ९ गते

बैंकिङ खबर/२ खर्ब ८६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै १७ जनाविरुद्ध हुन्डी कारोबार तथा संगठित अपराधसम्बन्धी मुद्दा अगाडि बढेको छ । नेपाल राष्ट्र बैंक ऐनविपरीतको कसूर र संगठित अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएर बयानको प्रक्रियामा अगाडि बढेको हो ।

गत आइतबार जिल्ला सरकारी वकिल कार्यालयले १७ जनालाई प्रतिवादी कायम गरी २ खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो । पक्राउ परेका प्रतिवादीहरूको बयान मंगलवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा भइरहेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

पक्राउ परेका रुपेश श्रेष्ठ, आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार र झनिन्द्र प्रसाद खतिवडासँग अदालतमा बयान भइरहेको छ । रुपेश श्रेष्ठ, आशिष अग्रवाल, मिनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडा, दीपेश श्रेष्ठ, रचना शर्मा, सरद भट्टराई, वीरेन्द्र मगर, विगल सिंह शर्मा, ओमकुमार श्रेष्ठ, दीपक शर्मा, वङदेन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुद्रे तामाङ, अमेरिकी राहदानीबाहक अन्सुल श्रेष्ठ र भारतीय राहदानीबाहक विमल पोडारविरुद्ध मुद्दा दर्ता गरिएको हो । अवैधरूपमा अनलाइनमार्फत हुण्डीको कारोबार गरेको भन्दै उनीहरूविरुद्ध २ सय पृष्ठको अभियोगपत्र दर्ता गरिएको हो ।